विद्युतीय शवदाह गृहमा डा. गिरीको अन्त्येष्टी
वि.सं.२०७५ पुस ५ बिहीवार ०१:४२
shares

पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएको छ । डा. गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती सारा योन्जन गिरीले जानकारी दिइन् ।
‘साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो’, उनले भनिन् ।
पशुपतिमा अन्त्येष्टी गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । गिरीको अन्त्येष्टीमा पूर्वउपप्रधानमन्त्री भीम रावल, कमल थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्वमन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुगेका थिए ।
विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गर्ने पहिलो पूर्वप्रधानमन्त्री डा. गिरी बनेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मङ्गलबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको थियो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा. गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए ।
नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका गिरी २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रीय भएका थिए ।

























