काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महँगिदै इन्टरनेट सेवा, १३ प्रतिशत टीएससी ग्राहकले तिर्नुपर्ने

20.18K
shares

इन्टरनेट सेवा लिने ग्राहकले थप आर्थिक भार बेहोर्नुपर्ने भएको छ । इन्टरनेटमा सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) सेवा प्रदायकले ग्राहकबाटै उठाउने घोषणा गरेपछि उपभोक्तामाथि आर्थिक भार थपिने भएको हो ।

साउनबाट बढाइएको १३ प्रतिशत अतिरिक्त कर सेवाग्राहीबाट नलिन सरकारले सेवा प्रदायकसँग गरेको सहमति उल्लंघन गरेको भन्दै इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपाल (इस्पान)ले उक्त शुल्क उपभोक्ताबाटै उठाउने घोषणा गरेको हो । आगामी पुस १५ गतेबाट अतिरिक्त दूरसंचार सेवा शुल्क ग्राहकबाट उठाउने र थप शुल्क बृद्धि गर्ने निर्णय भएको इस्पानका अध्यक्ष भोज राजभट्टले जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको थियो । तर, इन्टरनेटमा दूरसञ्चार सेवा दस्तुर लगाएर महँगो बनाएको भन्दै व्यापक आलोचना भएपछि सरकारले सेवा प्रदायकसँग सम्झौता गरी बढेको मूल्य फिर्ता लिएको थियो । सरकारले लगाएको अतिरिक्त शुल्क पूरानै दरमा समायोजन गर्ने, सेवा प्रदायकको माग सम्बोधन गर्न सरकारले नीतिगत सहयोग गर्ने, सबै सरकारी निकायले इन्टरनेट सेवा प्रदायकलाई मूल्य वृद्धि हुने गरी काम कार्बाही नगर्ने सम्झौतामा उल्लेख थियो ।

तर, सरकारले नै सम्झौता तोडेको इस्पानको आरोप छ । विद्युत प्राधिकरणले आफ्नो नेटवर्क प्रयोग गरेबापत ५ गुणासम्म भाडा वृद्धि गरेको इस्पानका अध्यक्ष भोजराज भट्टले बताए । सरकारी निकायबाटै सम्झौता उल्लंघन भएकाले ग्राहकबाट शुल्क उठाउन लागिएको उनले बताए । ‘इस्पानले आगामी पुस १५ गतेबाट अतिरिक्त दूरसञ्चार सेवा शुल्क ग्राहकबाट उठाउने र थप शुल्क बृद्धि गर्ने निर्णय गरेको छ,’ उनले भने ।

सञ्चार मन्त्रीलाई सम्बोधन गर्दै संस्थाले विज्ञप्ति पनि जारी गरेको छ । ‘जनतालाई सहजै इन्टरनेटको पहुँच पुर्याउने सरकारको नीतिमा मन्त्रालय र त्यस मातहतका निकायबाट इन्टरनेट सेवा प्रदायकहरुलाई अतिरिक्त आर्थिक भार थोपरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसप्रति माननीय सञ्चारमन्त्री ज्यूको हामी गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौं ।

इन्टरनेट सेवाको मूल्य समायोजन सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको समितिले मूल्य समायोजनसम्बन्धी सहमति गरेको थियो । सञ्चार मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रको संयोजकत्वमा गठित समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल र इस्पानका प्रतिनिधि बिनय बोहरा सदस्य थिए ।समितिले फिक्स ब्रोडब्यान्ड इन्टरनेटमा उपभोक्ताबाट १३ प्रतिशत अतिरिक्त शुल्क नलिने गरी सेवा प्रदायकहरूसँग सम्झौता गरेको थियो ।

 

८० प्रतिशतले तिर्छन् १३ प्रतिशत कर

नेपालका कुल इन्टरनेट प्रयोगकर्तामध्ये ८० प्रतिशतले कुनै न कुनै रूपमा सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरको भार बोक्नुपरेको छ । सेवा प्रदायकको घोषणाअनुसार अब २० प्रतिशतले पनि त्यस्तो भार बोक्नुपर्ने छ ।

कम्तीमा ५ सय १२ केबीपीएस गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड भनी नेपाल दूरसञ्चार प्राधिकरणले परिभाषित गरेको छ । फिक्स ब्रोडब्यान्डका उपभोक्ता भन्नाले ५ सय १२ केबीपीएसभन्दा बढी गतिको इन्टरनेट तारमार्फत जडान गरेका ग्राहक हुन् । यसमा अप्टिकल फाइबर र इन्टरनेट केबल प्रयोग गरी सेवा लिएका ग्राहक पर्दछन् ।

 

मोबाइल डाटा प्रयोगकर्ता मारमा

मूल्य समायोजनपछि फिक्स ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता अर्थात् घरमा केबल वा फाइबरमार्फत इन्टरनेट जोडेका ग्राहक मात्रै थप आर्थिक भारबाट बचेका थिए । तर, मोबाइल डाटा र वायरलेस इन्टरनेट प्रयोग गर्ने उपभोक्ता भने यो लाभ लिनबाट वञ्चित छन् ।

मोबाइलमा इन्टरनेट चलाउनेहरू दोहोरो महँगीमा परेका छन् । मोबाइल प्रयोगकर्ताले टेलिफोन महसुल र डाटामा १३ प्रतिशत दूरसञ्चार दस्तुरबाहेक २ प्रतिशत टेलिफोन स्वामित्व दस्तुर पनि तिर्दै आएका छन् ।  सरकारले प्रत्येक सिमकार्ड र रिचार्ज कार्डको मूल्यमा दुई प्रतिशतका दरले टेलिफोन स्वामित्व शुल्क लिँदै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालका कुल इन्टरनेट प्रयोगकर्तामध्ये मोबाइल डाटा र वायरलेस प्रविधिमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ता ८० प्रतिशत छन् । नेपालमा कुल इन्टरनेट प्रयोगकर्ता १ करोड ४७ लाख ३८ हजार बढी छन् । यीमध्ये २९ लाख ९६ हजार उपभोक्ता फिक्स ब्रोडब्यान्डका उपभोक्ता हुन् । यसमा इन्टरनेट सेवा प्रदायकका ग्राहक र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका एडीएसएलका ग्राहकसमेत समावेश छन् । फिक्स ब्रोडब्यान्ड इन्टरनेट सेवा काठमाडौं उपत्यकासहित प्रमुख सहरमा मात्रै केन्द्रित छ । मोबाइल डाटामार्फत इन्टरनेट प्रयोग गर्ने दुर्गमका सहित सबै उपभोक्ताले भने १३ प्रतिशत अतिरिक्त शुल्क बेहोर्दै आएका छन् ।

मोबाइल डाटामार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या १ करोड १४ हजार बढी छन् । यसमा थ्रीजी र फोरजीका ग्राहकको संख्या मात्रै गणना गरिएको छ । प्राधिकरणका तथ्यांकअनुसार फोरजी इन्टरनेटको सेवा लिने ग्राहकको संख्या १७ लाख र थ्री इन्टरनेट सेवा लिने ग्राहकको संख्या ९५ लाख बढी छ । नेपालमा कूल इन्टरनेट प्रयोगकर्तामध्ये मोबाइल डाटा र वायरलेस प्रविधिमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड १७ लाख बढी ।