सरकार र सिनेटबीच बजेट विवाद, अमेरिकी सरकारी कामकाज ठप्प
वि.सं.२०७५ पुस ८ आइतवार १३:४७
shares

बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कामकाज ठप्प भएको छ । अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि सरकारी कामकाज राति १२ बजेपछि ठप्प भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि बजेट छुट्याउन खोजेपछि समस्या सुरू भएको थियो । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्म पर्खाल लगाउन सुरु भएको छैन ।
ट्रम्पको निर्णयमा सिनेट तथा हाउसका सदस्य असन्तुष्ट छन् । सहमति नभएसम्म अमेरिका सरकारका एक चौथाइ संघीय कार्यालयको दैनिक कार्यसञ्चालन अवरूद्ध हुने भएको छ । राति १२ बजेदेखि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गतका कार्यालयको कामकाज बन्द भएको छ ।
खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जंगलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिएका छन् । सरकारी कार्यालयमा बजेट अभावका कारण काम रोकिएको यो वर्षको यो तेस्रो घटना हो । यसबाट हजारौं कर्मचारी प्रभावित भएका छन् ।
बुधबार अन्तरिम खर्चसम्बन्धी विधेयक पारित भएको थियो । त्यसमा आउँदो फेब्रुअरी ८ सम्म खुला राख्न भनिएको थियो । तर, त्यसमा राष्ट्रपति ट्रम्पले भनेजस्तो सीमा पर्खालका लागि बजेट छुट्याइएको छैन । ट्रम्पले पर्खालका लागि पाँच अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनुपर्ने बताउँदै आएका छन् ।

























