जलवायु परिवर्तन सम्बन्धी युवा सम्मेलन विराटनगरमा सुरु
वि.सं.२०७५ पुस १२ बिहीवार २१:१५
shares

जलवायु परिवर्तन सम्बन्धी छैठौं राष्ट्रिय युवा सम्मेलन बिहीबारबाट विराटनगरमा सुरु भएको छ । जलवायुका लागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता छ ।
सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धी विभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा क्लिन इनर्जी नेपाल, स्वच्छ उर्जा नेपाल, दिगो विकास, वाइपैड नेपाल र ग्रिन हुड नेपाल लगायत संस्थाका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाकी नेटवर्क को-अर्डिनेटर सञ्जु श्रेष्ठले जानकारी दिइन् ।
उनले सम्मेलनमा अनुभवको आदानप्रदान गरिनुका साथै जलवायु परिवर्तनसँग जुध्न युवाहरुको क्षमता अभिवृद्धि गरिने बताइन् । सम्मेलन १४ गते विराटनगर घोषणापत्र जारी गर्दे सकिनेछ । जारी भएको घोषणापत्र वातावरण मन्त्रालयका साथै विराटनगर महानगरपालिकालाई समेत बुझाईने कार्यक्रम छ ।

























