राज्यलक्ष्मी गोल्छाको हुलास वायरले सवा अर्ब लगानी थप्यो
वि.सं.२०७५ पुस २५ बुधवार १६:२३
shares

गोल्छा घरना अन्तर्गतको हुलास वायर इन्डस्ट्रिजले १ अर्ब २५ करोड लगानी थप्दै स्वदेशी खपत र निर्यातका लागि तीन प्रकारका पाइप उत्पादन गर्ने भएको छ ।
हुलास वायरले १५ किलोमिटर उत्तरमा पर्ने इटहरी नगरपालिका–१३ मा दोस्रो युनिटको स्थापना गर्न लागेको हो । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको हुलास वायर राजलक्ष्मी गोल्छा नेतृत्वमा सञ्चालित छ । इटहरीको युनिटमा फागुनको पहिलो सातादेखि माइल्ड स्टीलका स्वायर पाइप, राउन्ड पाइप र रेक्ट्यांगुलर पाइपको उत्पादन गर्ने कम्पनीले जनाएको छ । पाइपहरू आधादेखि ४ इन्चसम्मका हुनेछन् ।
फागुनदेखि प्रति दिन २ सय मेट्रिक टनबाट उत्पादन सुरु गर्ने र एक वर्षपछि मेसिन थप गरेर उत्पादनलाई ५ सय टन बनाउँने कम्पनीको लक्ष्य छ । एक वर्षपछि थप ५० करोड लगानी गरिने र ग्याल्मनाइज्ड पाइप, पोल र स्ट्रक्चरसमेतको उत्पादन सुरु गर्ने तथा हुलास वायरको दोस्रो युनिट पूर्ण अटोमेटिक हुने बताइएको छ । दोस्रो युनिटबाट उत्पादित माइल्ड स्टील पाइप वार्षिक तीन अर्ब मूल्य बराबरको भारततर्फ निकासी गर्ने उद्योगको लक्ष्य छ ।
उद्योगले आफ्ना उत्पादन भारतको दक्षिण भागको केरला, पूर्वमा अरुणाचल र उत्तरमा सिमलासम्म निर्यात गरिरहेको छ ।

























