काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण हुँदै

1.22K
shares

काठमाडौं । नेपाल र भारतबीचको रक्षा सहकार्य थप सुदृढ गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण आयोजना हुने भएको छ । भारतीय सेनाले सोमबार सामाजिक सञ्जाल एक्समार्फत नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यासको २०औँ संस्करण हुन लागेको जानकारी दिएको हो ।

भारतीय सेनाले यस अभ्यासलाई दुई छिमेकी मुलुकबीचको दीर्घकालीन सैन्य साझेदारी र सम्बन्धको निरन्तरताका रूपमा व्याख्या गरेको छ । यसअघि संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १९औँ संस्करण सन् २०२५ डिसेम्बरमा भारतको उत्तराखण्डस्थित पिथौरागढमा सम्पन्न भएको थियो । उक्त अभ्यासमा दुवै देशका सेनाले पहाडी क्षेत्रमा जंगल युद्ध र आतंकवादविरोधी कारबाहीसम्बन्धी तालिम गरेका थिए ।

भारतीय रक्षा मन्त्रालयका अनुसार १९औँ संस्करणको समापनका क्रममा दुवै देशका सैनिक सञ्चालन महानिर्देशक (डीजीएमओ) ले दुईदिने बटालियनस्तरीय सैन्य अभ्यासको अवलोकन गरेका थिए । संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय ७ अन्तर्गत आतंकवादविरोधी कारबाही सञ्चालन गर्ने प्रक्रियामा केन्द्रित रहेर अभ्यास गरिएको थियो ।

अभ्यासका क्रममा निगरानी तथा गुप्तचरी प्रणाली (आईएसआर), लक्ष्य पहिचान तथा प्रहार गर्ने ड्रोन, दिन तथा रातमा प्रयोग गर्न सकिने अत्याधुनिक हतियारका उपकरण, कृत्रिम बौद्धिकतामा आधारित निगरानी प्रणाली र सुरक्षित सञ्चार प्रविधिको प्रयोग गरिएको थियो ।

त्यसैगरी दुवै देशका सैनिकले जटिल भौगोलिक क्षेत्रमा सूचनाका आधारमा विशेष सैन्य कारबाही, हवाई माध्यमबाट सैनिक परिचालन तथा संयुक्त रणनीतिक अभियानको अभ्यास गरेका थिए ।

१९औँ संस्करणमा भारतीय सेनाका ३३४ र नेपाली सेनाका ३३४ गरी कुल ६६८ सैनिक सहभागी थिए । भारतीय टोलीको प्रतिनिधित्व मुख्यतः आसाम रेजिमेन्ट तथा नेपाली टोलीको प्रतिनिधित्व देवीदत्त रेजिमेन्टका सैनिकले गरेका थिए ।

‘सूर्यकिरण’ नेपाल र भारतबीच नियमित रूपमा आयोजना हुँदै आएको संयुक्त सैन्य अभ्यास हो । यसले दुई देशका सेनाबीच सैन्य क्षमता अभिवृद्धि, संयुक्त रूपमा काम गर्ने दक्षता, अनुभव आदानप्रदान र आपसी विश्वास विस्तारमा सहयोग पु¥याउँदै आएको छ । आगामी २०औँ संस्करणले पनि दुई देशबीचको रक्षा साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।