बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान
वि.सं.२०८३ मंसिर ७ सोमवार १२:४७
shares

भोजपुर । बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै हरियो मस्याङ (दाल) काटेर थन्क्याउन थालेका छन् । धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याम बाँदरबाट जोगाउन नसकेपछि किसान समय अगावै बाली भित्र्याउन बाध्य भएका हुन् ।
रामप्रसाद राई गाउँपालिका–४ दलगाउँकी किसान गोमादेवी कार्कीले बाँदरका कारण खेतमा लगाएको मस्याङ जोगाउन समस्या भएको बताइन । धानसँगै खेतको आलीमा मस्याम खेती गरेकी उनले धान भित्र्याइसकेपछि बाँदरबाट बाली जोगाउन झनै कठिन हुने भएकाले कोसा राम्ररी नपाक्दै काट्नुपर्ने अवस्था आएको बताइन।
भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाले बाँदरले मस्याङमा क्षति पु¥याएको बताइन । धान थन्क्याउने काममा व्यस्त हुनुपर्दा बाँदरको निगरानी गर्न नसकिएको उनको भनाइ छ । उनले करिब १४ रोपनी खेतको आलीमा मस्याङ खेती गरेकी छन । आलीमा लगाएको मस्याङ बाँदरले सखाप पारेपछि बाँकी रहेको बाली हरियो अवस्थामै काट्नुपरेको उनले सुनाइन ।
यस वर्ष डेढ मुरी मस्याङ उत्पादन हुने अनुमान गरेकी थापाले समयअगावै काट्नुपर्दा उत्पादनमा केही कमी आउने बताएन । उनका अनुसार मस्याम स्थानीय बजारमा प्रतिकिलो १८० देखि २०० सम्ममा बिक्री हुने गरेको छ । समयमै राम्रोसँग पाक्न पाए उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने भए पनि बाँदरको समस्याले किसानको अपेक्षामा असर पु-याएको उनको भनाइ छ ।

























