टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी नेपाली बजारमा सार्वजनिक
वि.सं.२०८३ मंसिर ७ सोमवार ११:१८
shares

काठमाडौं। टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ।
अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रममार्फत सार्वजनिक गरिएको मोटरसाइकलको अनावरण टीभीएस मोटर कम्पनीकी एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपेन्द्र मिश्रले संयुक्त रूपमा गर्नुभएको थियो।
नयाँ मोटरसाइकलमा रिफाइन्ड इन्जिन, सहज प्रदर्शन, एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम उपलब्ध छन्।
टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आधुनिक प्रविधिको संयोजन गरिएको बताउनुभयो। उहाँका अनुसार यसले राइडरलाई सुरक्षित र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्नेछ।
मोटरसाइकलमा अर्बन, स्पोर्ट र रेन गरी तीनवटा राइडिङ मोड उपलब्ध छन्। दैनिक यात्राका लागि अर्बन, रोमाञ्चक प्रदर्शनका लागि स्पोर्ट र प्रतिकूल सडक तथा मौसमको अवस्थामा ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायतासहित रेन मोड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ। नेपाली बजारमा यसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार मोटरसाइकल देशभरका टीभीएस शोरुममार्फत बिक्रीका लागि उपलब्ध हुनेछ।
























