पेप्सीकोलामा फोटोनको ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर बन्दै
वि.सं.२०८३ असोज २१ बुधवार ०६:१९
shares

काठमाडौं । विद्युतीय कमर्सियल सवारीसाधनको प्रयोग बढ्दै गएसँगै त्यसको बिक्रीपछिको सेवामा पनि लगानी बढ्न थालेको छ। यही क्रममा फोटोन ब्रान्डका कमर्सियल सवारीसाधनको बिक्री गर्दै आएको एमएडब्लू वृद्धि कमर्सियल भेइकल्सले काठमाडौंको पेप्सीकोलामा ठूलो क्षमताको ईभी कमर्सियल सर्भिस सेन्टर निर्माण गरिरहेको छ।
कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएपछि फोटोनका विद्युतीय कमर्सियल सवारीसाधनको नियमित मर्मतसम्भार, ब्याट्री परीक्षण, प्राविधिक जाँच तथा जेन्युइन पार्टपुर्जाको उपलब्धता एउटै स्थानबाट गराउने तयारी छ।
पेप्सीकोलामा निर्माण भइरहेको सर्भिस सेन्टरमा आधुनिक उपकरण र पर्याप्त सेवा क्षमता राखिने कम्पनीले जनाएको छ। यहाँ फोटोनको अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक र इन्जिनियरको टोलीले सवारीसाधनको जाँच तथा मर्मत गर्नेछ।
फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिलकुमार बरालले सवारीसाधन बिक्री गर्नु मात्रै कम्पनीको जिम्मेवारी नभएको बताउनुभयो। उहाँका अनुसार ग्राहकले आफ्नो सवारीसाधनका लागि आवश्यक प्राविधिक सहयोग, पार्टपुर्जा र मर्मत सेवा सहज रूपमा पाउने वातावरण बनाउनु बिक्रीपछिको सेवाको मुख्य उद्देश्य हो।
नयाँ सर्भिस सेन्टरमा सवारीसाधनको नियमित सर्भिसिङसँगै ब्याट्री परीक्षण र प्राविधिक जाँचको सुविधा उपलब्ध गराउने योजना छ। ड्राइभर तथा प्राविधिकलाई आवश्यक तालिमसमेत यहीँबाट दिने तयारी गरिएको कम्पनीले जनाएको छ।
ईभी कमर्सियल सवारीसाधन व्यवसायमा लामो समयसम्म सवारीसाधन सञ्चालनमा नआउँदा व्यवसायीलाई प्रत्यक्ष असर पर्न सक्छ। त्यसैले आवश्यक पार्टपुर्जा समयमै उपलब्ध गराएर मर्मतमा लाग्ने समय घटाउने लक्ष्य राखिएको कम्पनीको भनाइ छ।
सर्भिस सेन्टरमा फोटोनका जेन्युइन पार्टपुर्जा पर्याप्त मात्रामा राखिने बताइएको छ। यसले पार्टपुर्जाकै कारण सवारीसाधन लामो समयसम्म सर्भिस सेन्टरमा रोकिनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।
फोटोनले हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट सञ्चालनमा रहेको जनाएको छ। कम्पनीले सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिमका प्रमुख राजमार्गमा करिब १०० किलोमिटरको दूरीभित्र सेवा वा टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्यसमेत राखेको छ।
पेप्सीकोलाको नयाँ सर्भिस सेन्टरलाई भने काठमाडौं उपत्यकामा रहेका फोटोनका ग्राहकलाई केन्द्रित गरी बिक्रीपछिको सेवा विस्तार गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ।
विद्युतीय कमर्सियल सवारीसाधनमा प्रारम्भिक खरिदसँगै नियमित मर्मत, ब्याट्रीको अवस्था, पार्टपुर्जा र प्राविधिक सहयोग पनि व्यवसायीका लागि उत्तिकै महत्वपूर्ण हुन्छन्। यही आवश्यकतालाई लक्षित गर्दै नयाँ सर्भिस सेन्टर तयार पारिएको कम्पनीको भनाइ छ।
सर्भिस सेन्टर सञ्चालनमा आएपछि उपत्यकाका फोटोन ग्राहकले थप सहज रूपमा सेवा पाउने र कम्पनीको देशव्यापी बिक्रीपछिको सेवा सञ्जालसमेत विस्तार हुने अपेक्षा गरिएको छ।
























