ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
वि.सं.२०८३ असोज २१ बुधवार ०४:४३
shares

सारांश
- बाजुरामा भोलाराम जैसीले पाँच रोपनीमा ड्रागन फ्रुटखेती गरेर वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
- यस वर्ष उनले १५ क्विन्टल ड्रागन फ्रुट बिक्री गरिसकेका छन् भने अझै उत्पादन हुने क्रममा छ।
- कृषि ज्ञान केन्द्रले बाजुरामा १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागन फ्रुटखेतीको राम्रो सम्भावना रहेको जनाएको छ।
बाजुरा । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले ड्रागन फ्रुटखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि तीन वर्षअघि सुरु गरेको ड्रागन फ्रुटखेती अहिले उनको आम्दानीको प्रमुख माध्यम बनेको छ।
गाउँमै रहेको जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै जैसीले व्यावसायिक ड्रागन फ्रुटखेती गरिरहेका छन्। विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गरेका जैसी त्यसपछि गाउँ फर्किएर ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी कुखुरापालन र तरकारीखेती सुरु गरेका थिए।
कृषि तथा पशुपालनमा केही वर्ष काम गरेपछि नयाँ प्रकारको व्यावसायिक खेती गर्ने सोच बनाएर उनी ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन्। कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदान लिएर उनले सुरुमा केही बिरुवा परीक्षणका रूपमा लगाएका थिए। उत्पादन राम्रो भएपछि खेती विस्तार गर्दै लगे।
हाल जैसीले पाँच रोपनी क्षेत्रफलमा ड्रागन फ्रुटका एक हजार ४०० बिरुवा लगाएका छन्। बिरुवा रोपेको दुई वर्षमै फल दिन थालेपछि उनी उत्साहित भएका छन्। गत वर्ष करिब छ क्विन्टल ड्रागन फ्रुट बिक्री गरेका उनले यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेका छन्।
“जेठदेखि फल्न सुरु हुन्छ र असोजसम्म सिजन हुन्छ,” जैसीले भने, “गत वर्ष करिब छ क्विन्टल बिक्री भएको थियो। यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु। अझै केही फल पाक्ने क्रममा छ।”
ड्रागन फ्रुट बिक्रीबाट जैसीले वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उनले बताए। उनले मार्तडी बजारसँगै अछामको साँफेबगरसम्म ड्रागन फ्रुट पुर्याएर बिक्री गर्दै आएका छन्।
उत्पादन बढाउन सके आम्दानी पनि बढाउन सकिने जैसीको भनाइ छ। उनका अनुसार राम्रो मलजल र व्यवस्थापन गर्न सके एउटा ड्रागन फ्रुटको बोटले २५ वर्षसम्म उत्पादन दिन सक्छ। अन्य बालीको तुलनामा धेरै सिँचाइ आवश्यक नपर्ने भएकाले पनि यसको खेती सहज रहेको उनले बताए।
“ड्रागनखेतीमा सुरुमा केही लगानी र मेहनत चाहिन्छ,” उनले भने, “तर अन्य बालीजस्तो धेरै सिँचाइ आवश्यक पर्दैन। गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय–समयमा काँटछाँट गरे पुग्छ।”
जैसीको ड्रागन फ्रुटखेती अहिले बाजुरामा व्यावसायिक कृषिको सम्भावनाको उदाहरण बनेको छ। जिल्लामा ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटखेती गर्ने उनी पहिलो किसान हुन्। अन्य केही स्थानमा पनि केही वर्षअघि खेती सुरु भए पनि व्यावसायिक रूपमा विस्तार हुन सकेको छैन।
बाजुरामा पर्याप्त कृषियोग्य जमिन भए पनि परम्परागत बालीबाट मात्र पर्याप्त आम्दानी गर्न कठिन हुने अवस्था छ। जिल्लाका करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा पुगेको छैन। वर्षभरि खेती गर्दा पनि उत्पादनले छ महिना खान नपुग्ने अवस्था रहेको स्थानीय किसान बताउँछन्।
कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागन फ्रुटखेती सुरु गर्न सहयोग गरिएको थियो।
केन्द्रका बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागन फ्रुटखेती गर्न सकिन्छ। जिल्लामा नयाँ बाली भएकाले थोरै किसान मात्रै व्यावसायिक खेतीमा लागे पनि यसको सम्भावना राम्रो रहेको उनले बताइन्।
“जिल्लामा ड्रागन फ्रुटको सम्भावना प्रशस्त छ,” ढुङ्गानाले भनिन्, “मेहनतका साथ व्यावसायिक रूपमा लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ।”






















