जीप सफारीमार्फत तनहुँका पर्यटकीय गन्तव्य जोड्ने तयारी
वि.सं.२०८३ असोज २१ बुधवार ०४:३९
shares

सारांश
- तनहुँका प्रमुख पर्यटकीय गन्तव्यलाई जीप सफारीमार्फत जोड्ने तयारी गरिएको छ।
- बन्दीपुर र आँबुखैरेनीबाट सुरु भएको जीप सफारीलाई मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधिमूलसम्म विस्तार गरिनेछ।
- पर्यटन प्याकेज र पूर्वाधार विकासमार्फत स्थानीय रोजगारी तथा आयआर्जन बढाउने लक्ष्य राखिएको छ।
दमौली। तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ। बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई जिल्लाका अन्य गन्तव्यसँग जोडेर पर्यटन सर्किट विकास गर्ने योजना अघि सारिएको हो।
बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार जीप सफारीमार्फत पर्यटकलाई गाउँ, पहाड, धार्मिकस्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराइँदै आएको छ। अब सफारीलाई दमौली–मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूलसम्म विस्तार गर्ने तयारी गरिएको छ।
उनका अनुसार तनहुँमा धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनको पर्याप्त सम्भावना भए पनि गन्तव्यबीचको सम्बन्ध र पर्यटकीय प्याकेज विकासमा पर्याप्त ध्यान पुग्न सकेको छैन। विभिन्न गन्तव्यलाई एउटै यात्रामा जोड्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिने उनले बताए।
मानुङकोट सूर्योदय तथा हिमशृङ्खला अवलोकनका लागि, छाब्दी धार्मिक तथा प्राकृतिक पर्यटनका लागि, छिम्केश्वरी उच्च पहाडी धार्मिक गन्तव्यका रूपमा र आँधीमूल धार्मिक पर्यटनका लागि परिचित छन्।
जीप सफारीमार्फत यी गन्तव्य जोडिएमा पर्यटकलाई एउटै प्याकेजमा फरक–फरक प्रकृतिका स्थलको भ्रमण गराउन सकिने व्यवसायीको भनाइ छ। यसबाट ग्रामीण क्षेत्रमा पर्यटनको लाभ पुग्नुका साथै होटल, होमस्टे, रेस्टुरेन्ट, कृषि उपज तथा स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षा गरिएको छ।
पर्यटन व्यवसायी पौडेलले एउटा गन्तव्यमा मात्र पर्यटकलाई सीमित नराखी गन्तव्यको समूह बनाएर प्याकेज तयार गर्नुपर्ने बताए। यसका लागि स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
स्थानीय समुदायलाई पर्यटनसँग जोडेर होमस्टे, स्थानीय खाना, हस्तकला, कृषि उपज तथा सांस्कृतिक गतिविधिमार्फत आम्दानीको अवसर सिर्जना गर्नुपर्नेमा पनि जोड दिइएको छ। गन्तव्यबीच यातायातको सहज पहुँच, पूर्वाधार विकास र प्रचारप्रसारलाई एकीकृत गर्न सके तनहुँलाई लामो दूरीको पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने व्यवसायीको विश्वास छ।






















