काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ २९१ योजना कार्यान्वयनमा

338
shares

ai logo सारांश

  • काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ २९१ योजना कार्यान्वयनमा।
  • २७१ सडक, आठ सडक–पुल र १२ मर्मतसम्भारका योजना अघि बढाइँदै।
  • असोजभित्र १२० सडक योजनाको ठेक्का सूचना निकाल्ने तयारी।

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ २९१ योजना कार्यान्वयनको चरणमा छन्। आवागमन सहज बनाउने र ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले पूर्वाधार विकास कार्यालयमार्फत ती योजना अघि बढाइएको हो।

बागमती प्रदेश सरकारअन्तर्गतका योजनामध्ये २७१ सडक, आठ सडक–पुल र १२ मर्मतसम्भारका योजना रहेका छन्। कार्यालयले योजनाको लागतअनुसार बजेट विनियोजन गरेको जनाएको छ।

कार्यालय प्रमुख इन्जिनियर वीरेन्द्रकुमार बज्राचार्यका अनुसार रु २० लाखसम्मका १२३ सडक योजनाका लागि रु २४ करोड ५० लाख, रु २० लाखदेखि एक करोडसम्मका ११२ योजनाका लागि रु ३९ करोड ७५ लाख र रु एक करोडदेखि दुई करोडसम्मका ११ योजनाका लागि रु एक अर्ब २३ करोड ६० लाख विनियोजन गरिएको छ।

यस्तै, रु दुई करोडभन्दा माथिका चार सडक योजनाका लागि रु २२ करोड तथा स्रोत सहमति आवश्यक पर्ने २१ योजनाका लागि रु २६ करोड ४९ लाख विनियोजन गरिएको छ। सडक–पुल तथा मर्मतसम्भारका लागि पनि बजेट छुट्याइएको छ।

कार्यालयले योजनाको लागत अनुमान तथा स्वीकृतिको कामलाई तीव्रता दिएको छ। रु एक करोडसम्मका ३० योजनाको लागत अनुमान स्वीकृत भइसकेको छ। असोजभित्र रु २० लाखसम्मका ८०, एक करोडसम्मका ७० र दुई करोडसम्मका ११ योजनाको लागत अनुमान तयार गर्ने लक्ष्य राखिएको छ।

असोजभित्रै एक करोडसम्मका १२० सडक योजनाको ठेक्का सूचना प्रकाशन गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ।

सडकतर्फ भुम्लु गाउँपालिकाको हवेली–सापिङ–सिम्थली–बेगसिम्ले सडकका लागि रु आठ करोड, बोहोरेदोभान पुल–झिकु खोला करिडोर–खहरेघाट सडकका लागि रु एक करोड र धुलिखेलको चप्लेटी–सिरानटोल–काँसीभञ्ज्याङ सडकका लागि रु एक करोड विनियोजन गरिएको छ।

मण्डनदेउपुरको पाउँटार औद्योगिक ग्राम सडकका लागि रु ८५ लाखको स्रोत सहमति हुन बाँकी रहेको छ। कार्यालयले चालु आर्थिक वर्षमा चारवटा पक्की पुल निर्माणका लागि पनि स्रोत सहमतिको प्रक्रिया अघि बढाएको जनाएको छ।