नपिएलको तयारी अन्तिम चरणमा
वि.सं.२०८३ असोज २१ बुधवार ०४:३२
shares

सारांश
- एनपिएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदानको तयारी अन्तिम चरणमा।
- दर्शक क्षमता बढाउन तथा प्रवेश, शौचालय र आवतजावत व्यवस्थापन सुधार गरिँदै।
- एनपिएल कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।
काठमाडौ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ।
प्रतियोगिता हरेक संस्करणमा ठूलो बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको खड्काले बताए। दसैँसम्म सबै काम सम्पन्न गरेर प्रतियोगिताका लागि मैदान पूर्ण रूपमा तयार गर्ने क्यानको योजना छ।
गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यसपटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन्। एनपिएलका खेलमा दर्शकको चाप बढ्ने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गरी दर्शक क्षमता बढाउने तयारी गरिएको छ।
मैदान परिसरमा थप दर्शक अटाउने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको क्यानले जनाएको छ। यस्तै, मैदान प्रवेश गर्ने बाटो र गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको काम अघि बढाइएको छ।
टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण बनाउन व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। गत संस्करणमा दर्शकले शौचालय, आवतजावत तथा धुलोको समस्या भोगेकाले यसपटक त्यस्ता समस्या दोहोरिन नदिन क्यानले तयारी गरेको छ।
दसैँलगत्तै एनपिएल
दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन भए पनि क्यानले नेपाली क्रिकेटको बलियो ‘फ्यान बेस’का कारण दर्शकको उत्साहमा कमी नआउने अपेक्षा गरेको छ।
खड्काका अनुसार एनपिएलको मिति तय गर्दा अन्तर्राष्ट्रिय क्रिकेट तथा अन्य फ्रेन्चाइज लिगको तालिका र विदेशी खेलाडीको उपलब्धतालाई आधार बनाइएको हो। त्यसैले यस वर्ष दसैँ–तिहारको बीचको समय प्रतियोगिताका लागि उपयुक्त देखिएको उनले बताए।
तेस्रो संस्करणमा सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रमलाई तीव्रता दिएका छन्। विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ।
खड्काले टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुर मैदानमै प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म आकर्षित गर्ने बताए। एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।






















