दसैँ–तिहारको बिदामा घुम्नैपर्ने गन्तव्य बन्दै हेटौँडा, प्राकृतिकदेखि ऐतिहासिक सम्पदासम्म आकर्षण
वि.सं.२०८३ असोज २१ बुधवार ०४:२८
shares

सारांश
- दसैँ–तिहारमा घुम्न हेटौँडाका प्राकृतिक, धार्मिक र ऐतिहासिक गन्तव्य आकर्षक।
- सहिद स्मारक, भुटनदेवी, चुरियामाई र मकवानपुरगढी प्रमुख पर्यटकीय स्थल।
- पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा भारतीय पर्यटक आकर्षित गर्नुपर्नेमा जोड।
बागमती। प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण हेटौँडा दसैँ–तिहारको बिदामा घुम्नका लागि आकर्षक गन्तव्यका रूपमा रहेको छ। पर्यटकीय सम्भावना भए पनि पर्याप्त प्रवद्र्धन हुन नसक्दा हेटौँडाका धेरै गन्तव्य अपेक्षित रूपमा उपयोग हुन सकेका छैनन्।
हेटौँडा आसपासमा सहिद स्मारक, भुटनदेवी मन्दिर, कुष्माण्ड सरोवर त्रिवेणी धाम, चुरियामाई मन्दिर, मकवानपुरगढी, दक्षिण एसियाकै पहिलो चुरिया सुरुङमार्गलगायतका महत्वपूर्ण पर्यटकीय स्थल छन्।
हेटौँडा सहिद स्मारक
हेटौँडा उपमहानगरपालिका–११ मा रहेको सहिद स्मारक हेटौँडाको प्रमुख पर्यटकीय गन्तव्य हो। यहाँ विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदका जीवनी, पुस्तक, लेखरचना र तस्वीर राखिएका छन्। सहिद अध्ययन तथा अनुसन्धान केन्द्रसमेत स्थापना गरिएको छ।
स्मारक परिसरमा बालबालिकाका लागि चिप्लेटी, पिङ, जीप र ट्रेन तथा वयस्कका लागि रोटेपिङ, डुङ्गा, फ्लाइङ चेयर र फ्लाइङ कारजस्ता मनोरञ्जनका साधन सञ्चालनमा छन्। जिपलाइन, रोलर कोस्टर जिपलाइन र स्काई साइकलजस्ता साहसिक खेल पनि उपलब्ध छन्।
प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको पूर्णकदको प्रतिमासहितको प्रजातान्त्रिक पार्क, आकर्षक बगैँचा र फाउन्टेनले स्मारकलाई थप आकर्षक बनाएको छ।
स्मारक परिसरमा ६५ फिट अग्लो सहिदस्तम्भ, चिडियाघर तथा जातीय सङ्ग्रहालयसमेत छन्। जातीय सङ्ग्रहालयमा मकवानपुरमा रहेका दनुवार, चेपाङ, बनकरिया, राउटे, राई, लिम्बू, नेवार, तामाङलगायत २६ जातिका पहिरन, सामग्री र सांस्कृतिक पक्ष प्रस्तुत गरिएको छ।
धार्मिक गन्तव्य
हेटौँडाका प्रमुख धार्मिक गन्तव्यमा भुटनदेवी मन्दिर, कुष्माण्ड सरोवर त्रिवेणी धाम, भुवनेश्वर पशुपति र चुरियामाई रहेका छन्।
हेटौँडा–१० मा रहेको भुटनदेवी मन्दिरलाई महाभारतकालीन इतिहाससँग जोडेर हेरिन्छ। बडादसैँलगायत महत्वपूर्ण चाडपर्वमा यहाँ ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन्। मन्दिरमा अष्टभुजायुक्त देवीको मूर्ति रहेको छ।
कुष्माण्ड सरोवर त्रिवेणी धाम हेटौँडाको अर्को महत्वपूर्ण धार्मिक गन्तव्य हो। रत्नावती, कर्णावती र कौषबाहिनी नदीको त्रिवेणीमा रहेको यस तीर्थस्थलमा विभिन्न चाडपर्वमा दर्शनार्थी आउने गरेका छन्। कात्तिक शुक्ल नवमी अर्थात् कुष्माण्ड नवमीमा यहाँ विशेष भीड लाग्ने गरेको छ।
धाममा १०८ गौमुखी धारा, शिवालय, यज्ञकुण्ड, नागस्थान, बुद्ध दर्शनस्थल, संग्रहालय, फूलबगैँचा, वृत्तचित्र प्रदर्शनस्थल र मनोरेललगायत संरचना छन्।
चुरियामाई र ऐतिहासिक सुरुङमार्ग
चुरियामाई मन्दिर हेटौँडाको अर्को प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो। नयाँ सवारीसाधन खरिद गरेपछि पूजा गर्न यहाँ आउने चलनसमेत छ।
चुरियामाईसँगै रहेको ऐतिहासिक सुरुङमार्ग दक्षिण एसियाकै पहिलो सुरुङमार्गका रूपमा चिनिन्छ। विसं १८७२ मा निर्माण सुरु भई १८७४ मा सम्पन्न भएको यो सुरुङ तत्कालीन हेटौँडा–अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको थियो।
हेटौँडा आसपासमा भुवनेश्वर पशुपति, मनकामना, पाथीभरा, वनस्खण्डी, लक्ष्मीनारायण, दक्षिणकाली, गोरक्षेश्वर धाम र रुद्रेश्वर महादेव मन्दिरलगायत धार्मिक गन्तव्य पनि छन्। जलपरी झरना, सीता अशोक वाटिका, हर्नामाडीको मूर्ति सङ्ग्रहालय, जुरेथुमको श्रीकृष्णको विशाल मूर्ति र पुष्पलाल पार्क पनि घुम्न सकिने स्थल हुन्।
मकवानपुरगढी ऐतिहासिक गन्तव्य
मकवानपुरगढी हेटौँडा आसपासको महत्वपूर्ण ऐतिहासिक गन्तव्य हो। मकवानपुरगढी गाउँपालिका–२ मा रहेको यो दरबार सेनवंशी राजाको शासनकाल तथा नेपालको एकीकरणको इतिहाससँग जोडिएको छ।
हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथसँगै रहेको मकवानपुरगढी समुद्री सतहबाट एक हजार १७ मिटर उचाइमा छ। गढीले तत्कालीन वास्तुकला र सुरक्षा व्यवस्थाको इतिहाससमेत झल्काउँछ।
पर्यटन प्रवद्र्धनमा जोड
हेटौँडा देशकै प्रमुख औद्योगिक सहरमध्ये एक हुनुका साथै वीरगञ्ज नाका हुँदै भारत र काठमाडौँ जोड्ने महत्वपूर्ण सहर हो। पछिल्लो समय पदमपोखरी, बकैया लगायतका क्षेत्रमा कृषि पर्यटनको सम्भावना पनि बढेको छ।
पर्यटन क्षेत्रका जानकारले पर्याप्त पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि प्रवद्र्धनको कमीका कारण हेटौँडाले अपेक्षित लाभ लिन नसकेको बताएका छन्। दसैँ–तिहारको बिदामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय तह, व्यवसायी र पर्यटनसम्बद्ध संस्थाबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ।
भारतसँगको सीमाबाट नजिक रहेको हेटौँडामा भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने भएकाले पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।






















