काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

260
shares

ai logo सारांश

  • मौसम पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्ने समय तय गर्न सहज भएको छ।
  • ११५५ मा फोन गरेर मौसमको जानकारी लिएपछि किसानले खेतीपातीको काम गर्ने गरेका छन्।
  • पूर्वसूचनाले बाढी तथा वर्षाबाट हुने अन्नबालीको क्षति कम गर्न सहयोग पुगेको छ।

कञ्चनपुर, २१ असोज। केही वर्षअघिसम्म धान काट्ने समय तय गर्न आकाशको बादल हेर्नुपर्ने कञ्चनपुरका किसान अहिले मौसम पूर्वानुमानको सूचनामा भर पर्न थालेका छन्।

कृष्णपुर नगरपालिका–२ सरस्वती टोलका निलम कार्कीले मौसम पूर्वानुमानको सूचना मोबाइलमै आउने भएकाले धान काट्ने समय निर्धारण गर्न सहज भएको बताए। उनका अनुसार पानी पर्ने सम्भावना, वर्षाको मात्रा र मौसमको अवस्थाबारे जानकारी लिन ११५५ मा फोन गर्न सकिन्छ।

“पहिला धान काट्न आकाशको बादल हेरेर निर्णय गर्नुपथ्र्यो, अहिले मौसमको पूर्वसूचनाले सहज भएको छ,” उनले भने, “११५५ मा फोन गरेर जानकारी लिएपछि धान काट्ने समय तय गर्छौँ।”

पाँच कट्ठा जमिनमा धानखेती गरेका कार्कीले जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारीका आधारमा खेतीपातीको काम गर्ने गरेको बताए। खेती भित्र्याउने समयमा मात्रै नभई नदीमा बाढी आएपछि साइरन बज्ने र मोबाइलमा सन्देश आउने गरेको उनले बताए।

मौसम पूर्वानुमानको सूचनाले कृष्णपुरकै निर्मला बडूलाई पनि खेतमा काम गर्न सहज भएको छ। चार कट्ठा जमिनमा धानखेती गरेकी बडूले ११५५ मा मौसमबारे जानकारी लिएपछि मात्रै धान काट्ने समय तय गर्ने गरेको बताइन्।

“आवश्यक जानकारी लिएर मात्रै खेतमा धान काटेका छौँ,” उनले भनिन्, “विभागले दिने पूर्वजानकारीले खेतीपातीको काम गर्न धेरै सहज भएको छ।”

विभागले बुधबार कञ्चनपुरमा वर्षाको सम्भावना रहेको जानकारी गराएपछि किसान थप सचेत भएका छन्। बेदकोट नगरपालिका–७ का किसान विसन पन्तले मौसम पूर्वानुमानको सूचनाले अन्नबालीमा हुने क्षति कम गर्न सहयोग पुगेको बताए।

“पूर्वसूचनाले एकातर्फ किसानको अन्नबाली सुरक्षित भएको छ भने अर्कोतर्फ बाढीबाट हुने क्षति पनि कम भएको छ,” उनले भने।

मौसमसम्बन्धी सूचना भरपर्दो हुँदै गएपछि किसानका लागि पूर्वसूचना उपयोगी बनेको छ। केही वर्षअघि काटेर खेतमै राखेको धान डुब्ने समस्या हुने गरे पनि अहिले पूर्वसूचनाका आधारमा समयमै धान भित्र्याउन सकिएको किसानको भनाइ छ।

तर सामाजिक सञ्जालमा आउने मौसमसम्बन्धी सूचनाको विश्वसनीयताबारे भने किसान अन्योलमा छन्। पन्तले सामाजिक सञ्जालमा आउने सूचना सत्य हो कि होइन भन्ने छुट्याउन कठिन हुने बताए।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाको कुल एक लाख ६१ हजार ६२४ हेक्टर क्षेत्रफलमध्ये ५६ हजार ३६३ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये ४८ हजार ४९६ हेक्टरमा धानखेती हुने गरेको छ। यस्तै, ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ।

 

मौसम पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्ने समय तय गर्न सहज भएको छ।

२. ११५५ मा फोन गरेर मौसमको जानकारी लिएपछि किसानले खेतीपातीको काम गर्ने गरेका छन्।

३. पूर्वसूचनाले बाढी तथा वर्षाबाट हुने अन्नबालीको क्षति कम गर्न सहयोग पुगेको छ।