कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र
वि.सं.२०८३ असोज २१ बुधवार ०४:२१
shares

सारांश
- बेनी–जोमसोम–कोरला सडकका विभिन्न खण्डमा मर्मत तीव्र।
- ५५ स्थानमा अवरुद्ध सडक अधिकांश खुलाइयो।
- कोरला नाका जोड्ने सडक छिटो सञ्चालनमा ल्याउने लक्ष्य।
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्का कारण बाढीपहिरोले अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकका विभिन्न खण्डमा मर्मत कार्य तीव्र पारिएको छ।
असोज ८ देखि ११ गतेसम्म परेको झरीपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण सडकका ५५ स्थानमा अवरोध भएको थियो। बाढीले १० स्थानमा सडक कटान गरी बगाउनुका साथै सडक भत्काएको थियो।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र रघुगङ्गा गाउँपालिका–२ कुनौटाबाहेक अधिकांश स्थानमा मंगलबारसम्म प्रारम्भिक मर्मत सम्पन्न भएको छ।
उनका अनुसार मालढुङ्गादेखि कुनौटासम्म र कोरलादेखि पोखरेबगरस्थित सडक पुलसम्म ठूला सवारीसाधन सञ्चालन गर्न सकिने गरी सडक मर्मत गरिएको छ। पोखरेबगरदेखि कुनौटाबीच पर्ने रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ सडक मार्ग निर्माण गर्ने काम सम्पन्न भएको छ।
बाढीले कुनौटामा पैदलयात्रासमेत गर्न नमिल्ने गरी करिब २५० मिटर सडक बगाएको थियो। त्यस्तै पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग पनि बाढीले बगाएको थियो। कुनौटामा चारवटा एक्साभेटरसहित टिप्पर परिचालन गरी माटो भर्ने काम भइरहेको छ भने पोखरेबगरमा मजदुर र उपकरण परिचालन गरी ग्यावियन पर्खाल निर्माण भइरहेको छ।
कुनौटा र पोखरेबगरमा आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको सडक योजनाले जनाएको छ।
यसैगरी, रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा बाढीले सडक कटान गरेपछि वैकल्पिक मार्ग निर्माण गरिएको छ। सुरुआती चरणमा इन्धन अभावका कारण काम प्रभावित भए पनि नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहयोगमा ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएपछि सडक निर्माणमा समस्या नरहेको आयोजनाले जनाएको छ।
राहुघाट विद्युत्गृह अगाडिको सडक मार्ग खुलाउने कामसमेत सम्पन्न भएको छ।
सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिप्पर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक मर्मतलाई तीव्रता दिइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए। उनका अनुसार सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै स्थानमा समानान्तर रूपमा काम गरिरहेका छन्।
यसपटकको विपद्बाट उक्त सडकखण्डमा ठूलो क्षति पुगेको छ। सडक विभागले सडक पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा करिब तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ।
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण रहेको छ। कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।
मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भएको छ। दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिँदै गएको तथा पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउनुपर्ने दबाब बढेको छ।






















