काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्माणजन्य खनिजको सदुपयोग गरी निर्यात बढाउन मन्त्री साहको जोड

315
shares

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन र निर्यात प्रवर्द्धनका लागि तत्काल विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विज्ञहरूसँगको छलफलपछि उनले नेपालमा उपलब्ध निर्माण सामग्रीको सदुपयोग गरी भारत र बङ्गलादेशमा निर्यात गर्न सकिने सम्भावना रहेको बताए । त्यसका लागि तत्काल निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन र निर्यात प्रवर्द्धनको विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याएको हो ।

उनले अहिले भारत र बङ्गलादेशलाई निर्माण सामग्री आवश्यक रहेको र भुटानले समेत पहाडबाट प्राप्त निर्माण सामग्री बिक्री गरिरहेको सन्र्दभ उल्लेख गर्दै नेपालले पनि आफ्नो खनिज स्रोतको उपयोग र निर्यातमा ध्यान दिनुपर्ने धारणा राखे ।

कोशी नदीमा ठूलो परिमाणमा थुप्रिएको बालुवालाई ‘ह्वाइट गोल्ड’ को शंज्ञा दिँदै मन्त्री साहले ‘ड्रेजिङ’ मार्फत निकालेर उपयोग गर्न सकिने बताए । नदीमा थुप्रिएको बालुवा र बढ्दो नदी सतहलाई व्यवस्थापन गर्दै आगामी १० वर्षभित्रै त्यस्ता स्रोतको उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

उनले राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवर्द्धन कार्यक्रम तत्काल ल्याउन संसदीय समितिको समेत पहलको आवश्यकता औल्याउदै मन्त्रालयका अधिकारीलाई यस विषयमा काम अघि बढाउन निर्देशन दिए ।

मन्त्री साहले खानी तथा खनिज क्षेत्रको विकासका लागि विज्ञबाट प्राप्त सुझावलाई ग्रहण गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । बैठकमा भूगर्भविद् डा कविराज पौडेलले खानी तथा खनिज क्षेत्रलाई अनुमतिपत्र वितरण र प्रशासनिक नियन्त्रणमा सीमित नराखी वैज्ञानिक अनुसन्धान, स्वतन्त्र प्राविधिक मूल्याङ्कन र लगानीमैत्री प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।

उनले निर्माणमुखी खनिज उत्खननमा विशेष जोड दिँदै निजी जग्गामा मात्र सीमित नराखी औचित्यका आधारमा सार्वजनिक जग्गाबाट समेत उत्खनन गर्न सकिने व्यवस्था गर्न सुझाव दिए । विधेयकमा प्रस्तावित शून्य दशमलव २५ वर्ग किलोमिटरको क्षेत्रफल बढाउनुपर्ने उल्लेख गर्दै साना क्षेत्रमा टुक्राटुक्रा उत्खनन गर्दा अव्यवस्थित खानी सञ्चालन र वातावरणीय समस्या बढ्न सक्ने बताए ।

खनिजको वास्तविक फैलावट र भौगोलिक अवस्थाअनुसार उत्खनन क्षेत्र निर्धारण गर्न तथा दुई खानी क्षेत्रबीच ५० मिटर दूरी अनिवार्य गर्ने व्यवस्थालाई आवश्यकताअनुसार परिमार्जन गर्न डा पौडेलको सुझाव थियो ।

यसैगरी भूगर्भविद डा पुरुषोत्तम प्रसाद अधिकारीले खानी उद्योगमा लगानीकर्तालाई प्रोत्साहन र सहजीकरण गर्न सरकारलाई आग्रह गरे । उद्योगपतिका समस्या सुनेर समाधान गर्ने र अनावश्यक प्रशासनिक अवरोध हटाउने नीति लिनुपर्ने उनको भनाई थियो ।

भूगर्भविद् अर्जुन भट्टराईले नेपालको भौगोलिक अवस्था, खनिजको सानो आकार, अन्वेषण खर्च, ढुवानी लागत र सीमित आन्तरिक बजारलाई ध्यानमा राखेर विधेयकका प्रावधान बनाउनुपर्ने सुझाव दिए ।

उनले खानी उद्योगको वर्गीकरण दैनिक उत्पादन क्षमताका आधारमा मात्र नभई लगानी पुँजीका आधारमा समेत गर्नुपर्ने सुझाव दिए । रणनीतिक र सामरिक महत्वका खनिजलाई छुट्टाछुट्टै वर्गीकरण गर्नुपर्ने उल्लेख गर्दै सबै खनिजको उत्खनन सरकारबाट मात्रै गर्ने व्यवस्थाले विकास अवरुद्ध हुन सक्ने उनको भनाइ थियो ।

खानी तथा भूगर्भ विभागलाई खनिज क्षेत्रसम्बन्धी निर्णयमा अधिकार दिन तथा खानीजन्य उद्योग दर्ता गर्ने अधिकारसमेत विभागलाई नै दिनुपर्ने डा भट्टराईको सुझाव थियो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले विधेयकमा प्रशासनिक झन्झट घटाउने र लामो समयसम्म अनुमतिपत्र ओगटेर काम नगर्ने प्रवृत्ति नियन्त्रण गर्ने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । उनले निश्चित समयभित्र काम अघि नबढाउने अनुमतिपत्र खारेज गरी अन्य लगानीकर्तालाई अवसर दिने उद्देश्यले समयावधि छोट्याइएको बताए ।