काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा

357
shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीबी सुनारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आयामबाट परिभाषित गर्न महत्वपूर्ण सन्देश दिने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणबारे धारणा राख्दै उनले नेपाल–भारत सम्बन्धमा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाबारे उठ्ने प्रश्न र आरोपहरूलाई चिर्न भ्रमण महत्वपूर्ण हुने बताए ।

उनले भने, ‘नेपाल र भारतको सम्बन्धमा इन्टरनेसनल फ्याक्टरहरूले कसरी भूमिका निर्वाह गरिरहेका छन् भन्ने जुन खालको आरोप नेपाली राजनीतिक दलले अभ्यास गरिरहेको राजनीतिक प्रवृत्तिको सन्दर्भमा लाग्ने गरेको छ, त्यसलाई हामीले कसरी मुक्त गर्न सकिन्छ भन्ने यो भ्रमणबाट अन्तर्राष्ट्रिय सन्देश दिन पनि महत्वपूर्ण छ ।’

सुनारले भारतका लागि पनि नेपाली प्रधानमन्त्रीको भ्रमण उत्तिकै महत्वपूर्ण रहेको बताए । भारतको छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध अपेक्षाअनुसार नरहेको भन्दै नेपालसँग सुमधुर सम्बन्ध विकास गरेर दुई देशबीचको सम्बन्धलाई नयाँ आयामबाट परिभाषित गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कम्तीमा पनि नेपालसँग सुमधुर सम्बन्ध विकास गरेर नेपाल–भारतको सम्बन्ध नयाँ आयामबाट परिभाषित हुनेगरी उपस्थित भएको छ भन्ने सन्देश भारतलाई दिन जरुरी छ ।’

यसैगरी हंकार मधेसका प्रवक्ता केशव झाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विकास, लगानी तथा प्रविधिसम्बन्धी सहकार्यका विषय महत्वपूर्ण रहेको बताए ।

उनले तल्लो अरुण परियोजनासम्बन्धी सहमति, भारतले दुई खर्ब ४० अर्ब रुपैयाँको विकास प्याकेजमा सहयोग गर्ने तथा सूचना प्रविधिसम्बन्धी सहकार्य र कलेज निर्माणमा सहयोग गर्ने विषय चर्चामा रहेको उल्लेख गरे ।

झाले नेपालमा लगानी भित्र्याउन आवश्यक रहेको भन्दै देशको कानुन र नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘मुख्य रूपमा हाम्रो देशमा अहिले सबैभन्दा बढी लगानी भित्र्याउने कुरा हो । किनकि आफ्नो उत्पादन बढाउनलाई हामीसँग पर्याप्त लगानी छैन, बाहिरबाट ल्याउनुपर्छ । तर देशको नियम कानुन लगानीमैत्री छैन । नियम कानुनहरू खुम्चिएको जस्तो छ । कोही लगानी गर्न आउँदा त्यसलाई बढी च्याप्ने, असहज परिस्थिति निर्माण गर्ने र लाभहरू पनि लान नदिने खालको छ ।’