डाक्टर केसीलाई मध्यरातमा काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा भर्ना
वि.सं.२०७५ माघ ४ शुक्रवार १२:४४
shares

इलाममा नौं दिन आमरण अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि राति नै उनलाई काठमाडौं ल्याइएको छ ।
बिहीबार साँझबाट केसीको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले जीवन रक्षाका लागि काठमाडौं लैजान सुझाव दिएका थिए । चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाैं ल्याएको उनका सहयोगी डा. अविशेषराज सिंहले बताएका छन् । डा. केसी करिब चार बजे त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
उनलाई एम्बुलेन्स मार्फत भद्रपुर ल्याइएको थियो भने त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।
यसैगरी, राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममै विगत आठ दिनअघि आमरण अनशन सुरु गरेका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएिपछि उनलाइ पनि आजै काठमाडौं ल्याइएको छ ।
गए राति प्राडा केसीेसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएकामा चन्द्रगढी विमानस्थल पुर्याइएको थियो । केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएकाले उनलाई मात्र सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
आज बिहान ३ बजेतिर झापा पुर्याइएका अनसनरत थापालाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो । अनसनरत थापालाई पनि शिक्षण अस्पताल नै लगिएको थापाका निकट सहयोगी पुष्प भण्डारीले जानकारी दिए ।

























