पुलिस खप्तड गोल्डकपको फाइनलमा
वि.सं.२०७५ माघ ४ शुक्रवार १३:३६
shares

संकटा क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा भएको प्रतिस्पर्धामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा संकटालाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै पुलिस फाइनल पुगेको हो । टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गरेको प्रहार गोलमा परिणत भए पनि सुभाष गुरुङको पाँचौ प्रहारलाई विपक्षी गोल रक्षक रोशन खड्काले बचाएका थिए ।
पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र बिक्रम धिमाल पेनाल्टीमा सफल भएका थिए । खेल टाइब्रेकरमा धकेलिनुअघि पुलिस र संकटाले गोल गर्न पाएका केही मौकाको सदुपयोग गर्न सकेनन ।
अब शनिबार पुलिसले थ्री स्टारसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको यो प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् ।

























