गृहपृष्ठ संसदमा सरकारको चर्को आलोचना
संसदमा सरकारको चर्को आलोचना
सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमका विषयलाई लिएर संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको चर्को आलोचना गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतबाट कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार आफ्नो कार्य लक्ष्य हासिल गर्नबाट चुकेको भन्दै आलोचना गरे ।
सरकारसँग कुनै स्पष्ट दृष्टिकोण र योजना नभएको, सार्थक आर्थिक सुधार नभएको र सरकारको दोहनकारी प्रवृत्तिका कारण आन्तरिक र बाह्य लगानीको माहाैल नबनेको उनको टिप्पणी थियो ।
संवैधानिक अंगहरूमा व्यापक हस्तक्षेप गरिएको र उनीहरूको अधिकार संकुचित गर्ने प्रयास गरिएकाले राज्यका महत्वपूर्ण अंगहरूबीच शक्ति सन्तुलन खलबलिएको उनले आरोप लगाए ।
वर्तमान सरकार संघीयताको मर्म र भावनाअनुकूल नचलेको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हमला गरेको भन्दै सरकारप्रति उनी आक्रामण रूपमा प्रस्तुत भए । एक वर्षका नीति तथा कार्यक्रम भनिए पनि एकदेखि पच्चीस वर्षसम्मका कार्यक्रम पेश गरिएकाले कार्यान्वयनका टुंगाे नभएका उनले बताए ।
उनले सरकारले राष्ट्रपति जस्तो मर्यादित संस्थालाई पटक–पटक विवादमा तानेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै प्रमुख विपक्षी दलका नेता देउवाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर विवादमा पारेको आरोप लगाए ।
यसैगरि, कांग्रेसकै सांसद मिनेन्द्र रिजालले २३ जना सांसदका तर्फबाट संशोधन प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्माननीय नभनेको, मेरो सरकार भनेर प्रचलित प्रथाका धज्जी उडाइएको भनेर आलोचना गरे ।
नेमकिपाका सांसद प्रेम सुवालले पनि नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव पेश गरेका थिए ।
प्रकाशित समय : १७:५२ बजे



















