आमा–छोरा उपचारबाट वञ्चित
वि.सं.२०७६ जेठ २१ मंगलवार १७:५८
shares

बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गाैला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन् । आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन् ।
तुलसा फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ भने उहाँको छोरा हिरेन्द्रको दुवै मिर्गाैलामा समस्या देखिएको छ । दुवै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गाैला पीडित शाहीकी भाउजु विमला शाहीले बताइन् । उनका अनुसार लामो समयसम्म बिरामी परेकी तुलसालाई गत असोजमा स्वास्थ्य जाँच गराउँदा क्यान्सर देखिएको हो । भारतमा मजदुरी गर्दै आएका हिरेन्द्रलाई मिर्गौलाको समस्या देखिएको हो ।
‘सासु र देवरको उपचार गराउँदैमा सबै रकम सकियो,’ विमलाले भनिन्, ‘अहिले पाँच लाख ऋणमा छौँ ।’ उनले विभिन्न सहयोगीका भरमा देवरको नियमित डायलसिस गराउँदै आएको बताइन् । अहिले हिरेन्द्रको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलसिस गरिँदै आएको छ ।
क्यान्सर पीडित तुलसालाई दुई पटकसम्म ‘किमो’ गरिएको छ । ‘अहिले आर्थिक अभावका कारण उपचार गर्न सकिएको छैन,’ विमलाले भनिन् । उनले आर्थिक सहयोगका लागि विभिन्न निकाय तथा व्यक्तिलाई गुहार्दै आएकी छन् ।

























