काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

420
shares

बागलुङ।धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ ।

बजेट अभावका कारण लामो समय रोकिएको कलश निर्माण अहिले सङ्घीय सरकारको बहुवर्षीय योजनामार्फत अघि बढाइएको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागमार्फत सात करोड लागतमा कलश निर्माण भइरहेको छ । तेह्र तलाको संरचना निर्माण गरिने कलशको अहिले तेस्रो तलाको ढलान तयारी भइरहेको छ ।

स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा पञ्चकोटलाई विश्वस्तरको धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले १२ वर्षअघि कलश निर्माणको शिलान्यास गरिएको थियो । विसं २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित विशिष्ट व्यक्तिको उपस्थितिमा शिलान्यास भए पनि बजेट अभावका कारण निर्माणले गति लिनसकेको थिएन । तर पञ्चकोटमा करोडौँका अन्य सहायक संरचना निर्माण भएर धार्मिक पर्यटकहरू भने तान्दै आएको छ ।

पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यका अनुसार एक वर्षयता बहुवर्षीय योजनामार्फत रु सात करोड बजेटमा ठेक्कामार्फत कलश निर्माणले गति लिएको हो । आगामी दुई वर्षभित्र बाहिरी संरचनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लिफ्टसहित १३ तलाको कङ्क्रिट संरचना निर्माण गरी बाहिरबाट १०८ फिट अग्लो देखिने कलश बनाउने गुरुयोजना छ । बाहिरी संरचना निर्माण ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिनेछ भने कलशको स्वरूप र भित्री संरचना निर्माणका लागि दान तथा सहयोग जुटाउने योजना रहेको आचार्यले बताए ।

कलश पूर्ण रूपमा निर्माण सम्पन्न गर्न ४५ करोडभन्दा बढी खर्च लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । सरकारी सहयोग, विभिन्न समयमा आयोजना गरिएका महायज्ञ र भक्तजनबाट प्राप्त दान तथा सहयोग जुटाएर निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

जलसम्पदाको संरक्षण र संवर्द्धनको सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गर्न लागिएको विश्वशान्ति गण्डकी कलशलाई नदी तथा जलका विभिन्न स्वरूपको प्रतीकका रूपमा विकास गरिनेछ । गण्डकी सभ्यता र जल संरक्षणको महत्त्व उजागर गर्दै विश्वकै ठूलो र अग्लो कलश बनाउने लक्ष्य रहेको परिषद्ले जनाएको छ ।

कलश निर्माण सम्पन्न भएपछि पञ्चकोटको धार्मिक तथा पर्यटकीय आकर्षण थप बढ्ने र वैदिक सनातन धर्मावलम्बीका लागि आस्थाको महत्त्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ । यसले स्थानीय आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।

पञ्चकोटमा अहिले दैनिक सयौँ पर्यटक अवलोकन तथा भ्रमणका लागि आउने गरेका छन् । स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाले पाँचकोटको सङ्गमस्थललाई आधार बनाएर पञ्चकोट धामको परिकल्पना गरेका थिए । त्यसपछि यहाँ विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माण हुँदै आएका छन् ।

हाल पञ्चकोटमा सुविधासम्पन्न तीनतले आवासीय भवन, गण्डकी माता मन्दिर, शिशमहल, पाँच हजार ५५५ किलोको महाघण्ट, हनुमान शिला, गरुड शिलालगायत संरचना निर्माण भइसकेका छन् । कलश निर्माणले पूर्णता पाएसँगै पञ्चकोट धार्मिक पर्यटनको थप आकर्षण बन्ने अपेक्षा गरिएको छ ।