काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

294
shares

म्याग्दी। बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर शेरपुञ्जाको व्यस्तता सुरु हुन्छ । धवलागिरि गाउँपालिका–३ मुना घर भएका उहाँ एक वर्षदेखि बङ्गुरपालनमा निरन्तर खटिएको छन् । लामो समय अरुको फार्ममा काम गरेर सिकेको सीप र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्दै उहाँ सफल उद्यमी बन्ने यात्रामा छन् ।

आफ्नो फार्ममा हुर्काएका बङ्गुर बिक्रीयोग्य भएपछि मेघबहादुरले बजारमा पठाउन सुरु गरेका छ । मासुका लागि तयार भएका १० वटा बङ्गुरलाई छुट्टै खोरमा राखेर बिक्रीको तयारी छ । डेढ सयदेखि दुई सय किलोभन्दा बढी तौल भएका बङ्गुर हुर्काउन उनले दिनरात मिहिनेत गर्ेका छन् ।

मेघबहादुरको फार्ममा सानाठूला गरी करिब ९५ वटा बङ्गुर छन् । हाइग्रेड, ल्यान्डरेस र डिउरोक जातका बङ्गुर पाल्दै आएका उनले पाठापाठी खरिद गरेर दाना खुवाई हुर्काउने गरेको शेरपन्जाले बताए । एउटा बङ्गुरको पाठालाई नौ हजारसम्म पर्ने गरेको छ । उत्पादित बङ्गुरको मासु प्रतिकिलो ७०० का दरले बिक्री हुने गरेको छ ।

उत्पादन गरेर मात्र बजार नपाउने समस्या भोग्न नपरोस् भनेर मेघबहादुरले आफैँ मासु पसलसमेत सञ्चालनमा ल्याउएको छन् । बेनी नगरपालिका–७ इन्द्रेणीटोलमा ‘मुना बङ्गुर मासु पसल’ खोलेर फार्ममा हुर्काएका बङ्गुरको मासु सिधै उपभोक्तासम्म पुर्याउन थालेका हुन् ।

“बङ्गुरको मासुको खपत बढाउन आफ्नै पसल सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “गुणस्तरीय र स्वस्थ मासु उपलब्ध गराएर ग्राहकको विश्वास जित्ने लक्ष्य छ ।”

सात वर्षको अनुभव, आफ्नै व्यवसायमा लगानी

व्यावसायिक बङ्गुरपालन सुरु गर्नुअघि मेघबहादुरले करिब सात वर्ष ‘स्याङ्जा एग्रो रिसर्च एन्ड भेटेरिनरी सेन्टर’मा काम गर्नुभएको थियो । अरुको फार्ममा काम गर्दा उनले बङ्गुरपालनको प्राविधिक ज्ञान, रोगको पहिचान, उपचार तथा व्यवस्थापनसम्बन्धी सीप सिके।

त्यही अनुभवलाई आफ्नै व्यवसायमा उपयोग गर्ने सोच बनाएपछि परिवार र आफन्तको सहयोगमा मेघबहादुरले करिब ३५ लाख लगानी गरे । ‘मुनाल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर व्यावसायिक बङ्गुरपालन सुरु गरेका हुन् ।

अरुको व्यवसायमा श्रम र समय खर्चेर सिकेको सीपले अहिले आफ्नै उद्यमको आधार तयार भएको मेघबहादुरको अनुभव छ । बङ्गुरको जात छनोट, आहार व्यवस्थापन, खोरको सरसफाइ र रोगबाट बचाउने उपायमा विशेष ध्यान दिएको छन् । “अरुको फार्ममा काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएँ । त्यही ज्ञान र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गरेको हुँ”, उनले भने ।

उत्पादनदेखि बजारीकरणसम्म आफैँ सक्रिय
कृषि तथा पशुपालनमा उत्पादन गर्नुमात्र पर्याप्त नहुने शेरपुञ्जाको बुझाइ छ । उत्पादित वस्तुले बजार नपाउँदा किसानले समस्या भोग्नुपर्ने भएकाले मेघबहादुरले फार्मसँगै मासु पसल सञ्चालन गरेका हुन् ।

फार्ममा हुर्काएका बङ्गुरबाट पाठापाठी र माउ बिक्री गर्नुका साथै मासुका लागि तयार भएका बङ्गुर आफ्नै पसलमार्फत बिक्री गर्ने योजना उनको छ । यसले उत्पादन र बजारबीचको दूरी घटाउनुका साथै उपभोक्तालाई ताजा मासु उपलब्ध गराउन सहयोग पुग्ने उनको अपेक्षा छ ।

बेनी बजारमा बसोबास गर्ने मुनालगायत विभिन्न ठाउँका स्थानीयवासी उहाँको पसलमा पुगेर मासु खरिद गर्न थालेका छन् । नयाँ व्यवसाय सुरु गरेकोमा ग्राहक तथा शुभेच्छुकले दिएको हौसलाले थप उत्साहित बनाएको मेघबहादुरले बताए ।

बङ्गुर बस्ने खोरको नियमित सरसफाइ, उचित आहार र स्वास्थ्यमा ध्यान दिँदै आएको उनको भनाइ छ । व्यवसायलाई दीर्घकालीन र व्यवस्थित बनाउने लक्ष्यसहित उत्पादनको गुणस्तरमा सम्झौता नगर्ने उनले बताए ।

गाउँमै सम्भावना, बजारको चुनौती

मेघबहादुरका अनुसार म्याग्दीलगायत ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनको सम्भावना प्रशस्त छ । तर उत्पादित वस्तुको उचित बजार र मूल्य नपाउनु किसानका लागि मुख्य चुनौती बनेको छ ।

“हाम्रै गाउँठाउँमा कृषि र पशुपालनको अथाह सम्भावना छ । तर किसानलाई सबैभन्दा ठूलो समस्या बजारीकरणको छ”, मेघबहादुरले भने, “राज्यका निकायले उत्पादनलाई बजारसम्म पुर्याउने ठोस नीति र प्रोत्साहन ल्याउनसके युवालाई विदेशिनबाट रोक्न सकिन्छ । विदेशबाट फर्किएकालाई पनि आफ्नै ठाउँमा उद्यम गर्ने वातावरण बन्छ ।”

युवालाई स्वदेशमै स्वरोजगार बनाउन व्यावसायिक कृषि तथा पशुपालनमा सहुलियत, प्राविधिक सहयोग र बजारको सुनिश्चितता आवश्यक रहेको मेघबहादुरको धारणा छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्लाका पशुपालक किसानलाई विभिन्न रोगबाट जोगाउन खोप तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयका प्रमुख शर्मिला कुमालले बताए ।