काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिरियाद्वारा ४० करोड क्याप्टागन गोली नष्ट

336
shares

सिरियाली अधिकारीहरूले सुरक्षा निकायका विभिन्न कारबाहीका क्रममा जफत गरिएका ४० करोड क्याप्टागन गोलीसहित ठूलो परिमाणको लागुऔषध नष्ट गरेको घोषणा गरेका छन् ।

लागुऔषध नियन्त्रण विभागले आइतबार विभिन्न सुरक्षा कारबाहीमा बरामद गरिएका लागुऔषध तथा मनोप्रभावकारी पदार्थ चरणबद्ध रूपमा नष्ट गरिएको जनाएको छ । सरकारी समाचार संस्था सानामार्फत जारी विज्ञप्तिअनुसार नष्ट गरिएका सामग्रीमा ४० करोड क्याप्टागन गोली, १२ दशमलव २ टन चरेस, २ दशमलव ३ टन गाँजाका बोट, छ किलोग्राम हेरोइन र ५४ लाख लागुऔषधयुक्त गोली रहेका छन् ।

लागुऔषध तस्करी, लुकाउने र ओसारपसारमा प्रयोग हुने सामग्री तथा रासायनिक पदार्थबाट लागुऔषध उत्पादन गर्ने उपकरणसमेत नष्ट गरिएको विभागले जनाएको छ ।

सन् २०११ मा गृहयुद्ध सुरु भएपछि कृत्रिम उत्तेजक पदार्थ क्याप्टागन सिरियाको प्रमुख अवैध निर्यातमध्ये एक बनेको थियो । यसले क्षेत्रीय बजारमा ठूलो प्रभाव पारेको र अपदस्थ राष्ट्रपति बशर अल–असदको शासनका लागि अवैध आम्दानीको प्रमुख स्रोतका रूपमा काम गरेको थियो ।

सन् २०२४ डिसेम्बरमा सत्ता सम्हालेका नयाँ अधिकारीहरूले लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । सानाका अनुसार लागुऔषध नियन्त्रण विभागका प्रमुख खालिद इदले गत जुनमा असद सत्ताच्युत भएपछि तस्करीका प्रयास रोक्न अधिकारीहरूले एक हजार ५५० वटा कारबाही गरेको बताउनुभएको थियो ।

उहाँका अनुसार उक्त अवधिमा ९० वटा अन्तर्राष्ट्रिय तस्करी सञ्जाल ध्वस्त पारिएका, क्याप्टागन उत्पादन गर्ने १७ कारखाना बन्द गरिएका तथा ६९ करोड ७० लाख क्याप्टागन गोली र १५ टन चरेस बरामद गरिएको थियो ।