काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव

294
shares

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणमा नेपाल र भारतबीच बढेको विश्वासको दूरी घटाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै ज्ञवालीले पछिल्लो समय नेपाल र भारतबीच आपसी विश्वासमा कमी आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले त्यसलाई पुनःस्थापित गर्न पहल गर्नुपर्ने बताएका हुन् ।

गत वर्ष सेप्टेम्बरमा भएका घटनाक्रम, त्यसपछि नेपालमा सम्पन्न निर्वाचन र नयाँ सरकार गठनसँगै दुई देशबीच दूरी बढेको उनको भनाइ छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणले काठमाडौं र नयाँदिल्लीबीच विश्वासको वातावरण पुनःनिर्माण गर्न भूमिका खेल्नुपर्ने उनले बताए ।

‘गत सेप्टेम्बरका घटनाक्रम, त्यसपछि भएको निर्वाचन र नयाँ सरकार गठनसँगै दिल्ली र काठमाडौंबीच दूरी र विश्वासको संकट देखिएको छ । त्यसैले यी दुई महत्त्वपूर्ण छिमेकी तथा साझेदार राष्ट्रबीचको दूरी घटाउने र विश्वास पुनःस्थापित गर्ने विषयमा प्रधानमन्त्रीले ध्यान दिनुपर्छ,’ ज्ञवालीले भने ।

उनले प्रधानमन्त्री शाहले भ्रमणका क्रममा नेपालका चासो र सरोकारका विषय उठाउनुपर्ने पनि बताए । नेपाल र भारतबीच लामो समयदेखि समाधान हुन नसकेका सीमा विवाद तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धिका केही प्रावधान पुनरावलोकन गर्नुपर्ने विषयलाई उनले प्रमुख मुद्दाका रूपमा उल्लेख गरे । त्यस्तै, नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउन विद्यमान व्यापार सम्झौता संशोधन गर्नुपर्ने उनको भनाइ छ ।

ज्ञवालीले दुई देशबीच आर्थिक सहकार्यको सम्भावना पनि पर्याप्त रहेको उल्लेख गरे । नेपाल र भारतले मूल्य श्रृङ्खला तथा आपूर्ति श्रृङ्खला विकासमा सहकार्य गर्न सके दुवै देश लाभान्वित हुने उनले बताए । पुराना विवाद समाधानसँगै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्मको दुईदिने भारत भ्रमणमा छन् । गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने तथा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्ष र साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ । एएनआई