गृहपृष्ठ एनटीटीभीमा भर्चुअल सेट–टप बक्स, स्मार्ट टीभीमा सेट–टप बक्सबिनै सेवा
एनटीटीभीमा भर्चुअल सेट–टप बक्स, स्मार्ट टीभीमा सेट–टप बक्सबिनै सेवा
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको टेलिभिजन सेवा एनटीटीभीअन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताले अब सेट–टप बक्सबिनै सेवा प्रयोग गर्न सक्ने भएका छन् ।
कम्पनीले आज (२०८३ असोज १५) देखि हाललाई एन्ड्रोइड टीभीका लागि भर्चुअल सेट–टप बक्स (Virtual Set-Top Box) उपलब्ध गराएको हो ।
ग्राहकले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नेछन् । त्यसका लागि गुगल प्ले स्टोरमा ‘स्मार्ट एनटीटीभी’ सर्च गरी एप इन्स्टल गर्नुपर्नेछ । एप इन्स्टल गरेपछि भर्चुअल सेट–टप बक्समार्फत एनटीटीभी सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै, निकट भविष्यमा सबै प्रकारका स्मार्ट टीभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको कम्पनीले जनाएको छ ।
नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा १ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ ।
नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ । भर्चुअल सेट–टप बक्ससहित टेलिभिजन सेवा प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डाटा सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । यससम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइट तथा ‘नेपाल टेलिकम’ एपमार्फत लिन सकिनेछ ।
प्रकाशित समय : १४:५५ बजे


















