गृहपृष्ठ रसुवा बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको क्षतिबारे नाडा र भन्सार विभागबीच छलफल

रसुवा बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको क्षतिबारे नाडा र भन्सार विभागबीच छलफल

रसुवा बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको क्षतिबारे नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं। हालै रसुवामा आएको बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको क्षतिका विषयमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल र भन्सार विभागबीच छलफल भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षति तथा प्रभावित व्यवसायीले पाउनुपर्ने राहतका विषयमा छलफल गरेको हो।

छलफलमा अध्यक्ष उप्रेतीले २०८३ भदौ १० गते रसुवा, टिमुरेलगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण दसैंको सिजनलाई लक्षित गरी चीनबाट आयात गरिएका सयौं सवारीसाधनमध्ये ठूलो संख्यामा रसुवा नाकाबाट बाढीले बगाएको जानकारी गराए। उनले बाढीबाट प्रभावित पैठारीकर्तालाई सरकारले उपलब्ध गराउनुपर्ने राहत तथा सहुलियतका विषयमा छिटो निर्णय गरी कार्यान्वयन गर्न आग्रह गरे।

त्यसैगरी नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार नखुलेका कारण सीमावर्ती क्षेत्रमा पाँच सयभन्दा बढी सवारीसाधन रोकिएको जानकारी गराउँदै त्यसको सहजीकरणका लागि आग्रह गरे।

उनले हालसम्म ११ सिटे विद्युतीय माइक्रोबसहरू छुटाउन नसकिएको भन्दै त्यसका लागि समेत आवश्यक पहल गरिदिन भन्सार विभागसँग अनुरोध गरे।

छलफलका क्रममा भन्सार विभागका महानिर्देशक भुसालले बाढीबाट प्रभावित व्यवसायीलाई सरकारले उपलब्ध गराउने सुविधा तथा सहुलियतका विषयमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच आवश्यक गृहकार्य भइरहेको जानकारी दिए।

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु