गृहपृष्ठ रसुवा बाढी प्रभावितका लागि NAIMA ले ५० लाख रुपैयाँ सहयोग गर्ने

रसुवा बाढी प्रभावितका लागि NAIMA ले ५० लाख रुपैयाँ सहयोग गर्ने

रसुवा बाढी प्रभावितका लागि NAIMA ले ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

NAIMA ले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संघले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को सुरुवातदेखि नै NAIMA का सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान दिँदै आएको संघले जनाएको छ।

NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले संघले स्थापनाकालदेखि नै विपद् तथा आपत्कालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको बताइन्।

“यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो,” उनले भनिन्, “सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सक्छ।”

अध्यक्ष वैद्यले विपद्का बेला सहयोग र सहकार्यका लागि तत्परता देखाउने सदस्य कम्पनीहरूलाई धन्यवादसमेत दिइन्।

NAIMA ले खोज, उद्धार तथा राहतमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाप्रति सम्मान व्यक्त गरेको छ।

साथै, अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गरेको छ ।

प्रकाशित समय : ११:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु