गृहपृष्ठ सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै हरी ढकालले भने– ‘इतिहास मेटिँदैन’
सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै हरी ढकालले भने– ‘इतिहास मेटिँदैन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरी ढकालले सिंहदरबारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले काटेर वा बोर्डमा बनाइएका हेडलाइन तथा आफूलाई गरिएका आलोचनाले इतिहास नमेटिने बताए। उनले आफूले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ नभनेको स्पष्ट पारे।
उनले परिवर्तनको समयमा ‘गर्दिएको भए हुन्थ्यो’ भन्ने शब्द प्रयोग गरेको विषयलाई अनावश्यक रूपमा उचालिएको बताए।
‘कुनै काटेर वा बोर्डबाट बनेका हेडलाइनले, अनि मलाई गरिएका चुटाइहरूले लुकाइएका इतिहासहरू मेटिँदैनन्। मैले ‘गर्छु’ भनेको हो र? त्यो परिवर्तनको बेलामा ‘गर्दिएको भए हुन्थ्यो’ भन्ने शब्दमा पनि त्यत्रो चासो किन भयो?’, उनले भने ।
ढकालले सिंहदरबार निर्माणसँग जोडिएका ऐतिहासिक पक्षबारे आफूले अध्ययन गरेको र त्यसैका आधारमा अभिव्यक्ति दिएको बताए। उनका अनुसार तत्कालीन राज्यको ढुकुटीबाट ठूलो रकम खर्च गरेर व्यक्तिगत प्रयोजनका लागि दरबार निर्माण गरिएको र निर्माणका क्रममा मजदुरमाथि शोषण भएको इतिहास रहेको उनको दाबी छ।
‘१९६० मा राज्यको ढुकुटीबाट व्यक्तिगत घरका लागि ५० लाख खर्च गरेर यो बनाइयो। करिब ३५–४० वर्ष पछाडि त्यो २ करोडमा बेचियो। यो कम्पाउन्ड बनाउँदै गर्दा १५ हजार मजदुरमाथि शोषण गरिएको थियो,’ उनले भने ।
ढकालले निर्माणका क्रममा सेनालाई समेत व्यक्तिगत घर बनाउन प्रयोग गरिएको दाबी गरे। उनले तत्कालीन समयमा मजदुरलाई उचित ज्याला नदिई काममा लगाइएको विषय पनि इतिहासको एउटा पाटो भएको बताए।
सिंहदरबारको नामसँग जोडिएको ‘सिंह’ शब्दले तत्कालीन शासकीय प्रवृत्तिको प्रतिनिधित्व गर्ने बिम्बका रूपमा आफूले व्याख्या गरेको उनले बताए।
उनले भने, ‘बाघभन्दा सिंह ठूलो। टीको महारानीले भनेको भएर जुरेको नाम हो नि यो। ‘सिंह’ भन्ने शब्दले करुणा, दया यस्तो झल्काउँछ र? त्यसले घमण्ड नै झल्काउँछ। त्यसले शासक नै झल्काउँछ।’
ढकालले आफूले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ नभनेको पुनः स्पष्ट पारे। बरु सिंहदरबारसँग जोडिएका राणाकालीन अवशेष तथा त्यसबाट झल्किने सत्ताको भावबारे आफूले प्रश्न उठाएको उनको भनाइ थियो।
उनले भने, ‘नाम परिवर्तन गर्दिएको भए हुन्थ्यो भनेको छु। मैले नाम फेर्ने भनेकै छैन। मेरो एउटै कुरा, त्यो पूरा भिडियो हेरे पछाडि छर्लङ्ग हुन्छ।’
उनले सिंहदरबारमा पहुँच र राज्यको स्रोतमा नागरिकको समान पहुँचको विषयसमेत आफूले उठाएको बताए। विशेषगरी आफ्नो सीमान्तकृत चेपाङ समुदायले भोग्दै आएको समस्यालाई सिंहदरबारसम्म पहुँच नपुग्नुको उदाहरणका रूपमा प्रस्तुत गरेको उनले बताए।
ढकालले भण्डाराबाट मलेखुसम्म आउने चेपाङ राजमार्गको ट्रयाक खुलेको लामो समय भइसक्दा पनि केही किलोमिटर सडक कालोपत्रे हुन नसकेको दाबी गर्दै चेपाङ समुदायको जीवनस्तर, कुपोषणलगायतका समस्या समाधानमा राज्यको ध्यान पुग्न नसकेको बताए।
उनले भने, ‘सिंहदरबारमा पहुँच नहुँदा मेरो सीमान्तकृत चेपाङ समुदायको २४ वर्ष अगाडि भण्डाराबाट मलेखु आउने चेपाङ राजमार्गको ट्रयाक खुलेको, तर ५–७ किलोमिटर पिच नै भएको छैन। चेपाङ समुदायको त्यो जीवनस्तर र त्यहाँको कुपोषण, अनि यो सिंहदरबारमा पहुँच नहुँदाको अवस्था।’
उनले आफूले दिएको अभिव्यक्तिलाई लिएर प्राज्ञिक तथा बौद्धिक क्षेत्रमा समेत बहस सुरु भएको बताए। आफ्नो पूरा भिडियो नहेरी केही अंशका आधारमा धारणा बनाइएको उनको गुनासो थियो ।
प्रकाशित समय : १८:५१ बजे


















