गृहपृष्ठ मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ ।
कार्यालयले मङ्गलबार सरोकारवाला र पत्रकारसँग अन्तरक्रिया गर्दै कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथामका लागि सबैको सहकार्य आवश्यक रहेको जनाएको हो ।
कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिँदा समाज र परिवारमा गम्भीर असर पर्ने बताएका छन्। उहाँले मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटना न्यूनीकरणका लागि सबैले समयमै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सकारात्मक सोच, आत्मसम्मान र जीवनका चुनौतीसँग सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताएका छन् ।
उनले मानसिक समस्या देखिएका व्यक्तिलाई सहयोग गर्न र आवश्यक परे आत्महत्या रोकथामसम्बन्धी राष्ट्रिय हटलाइन ११६६ प्रयोग गर्न आग्रह गरेका छन् । साथै स्थानीय तह र विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।
यसैबीच फरक एक प्रसङ्गमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेङ्गु रोगबाट बच्न घरआँगन सफा राख्न, पानी जम्न नदिन र लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गरेका छन् ।
प्रकाशित समय : ०६:३१ बजे


















