global ime bank Long Banner Ad

गृहपृष्ठ इङ्गल्यान्डका प्रशिक्षक टुचेलको रणनीतिमा प्रश्नः के इङ्गल्यान्ड आफ्नै गल्तीले पराजित भयो ?

इङ्गल्यान्डका प्रशिक्षक टुचेलको रणनीतिमा प्रश्नः के इङ्गल्यान्ड आफ्नै गल्तीले पराजित भयो ?

इङ्गल्यान्डका प्रशिक्षक टुचेलको रणनीतिमा प्रश्नः के इङ्गल्यान्ड आफ्नै गल्तीले पराजित भयो ?

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँगको हारपछि इङ्गल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलको रणनीतिक निर्णयहरूलाई लिएर तीव्र आलोचना सुरु भएको छ ।

खेलको ५५औँ मिनेटमा १–० को अग्रता बनाएको इङ्गल्यान्डले अन्तिम ३७ मिनेटमा अपनाएको अत्यधिक रक्षात्मक शैली नै टोलीको हारको मुख्य कारण बनेको विश्लेषण गरिएको छ ।

खेलको ७२औँ मिनेटसम्म इङ्गल्यान्डले खेल पूर्णरुपमा आफ्नो नियन्त्रण राखेको थियो । तर, सुरुवाती गोलकर्ता एन्थोनी गोर्डनलाई हटाएर डिफेन्डर एज्री कोन्सालाई मैदान प्रवेश गराएपछि इङ्गल्यान्डको आक्रमण भुत्ते हुन पुग्यो । प्रशिक्षक टुचेलले टोलीलाई ‘ब्याक–फोर’ बाट ‘ब्याक–फाइभ’ संरचनामा लगेपछि अर्जेन्टिनालाई दबाब बनाउन झन् सहज भयो ।

त्यसको १० मिनेटपछि मिडफिल्डर डेक्लान राइसको स्थानमा पुनः डिफेन्डर निको ओरेलीलाई मैदान पठाउने निर्णयले इङ्गल्यान्डलाई आफ्नै पेनाल्टी एरिया भित्र खुम्चिन बाध्य बनायो ।

तथ्याङ्क अनुसार खेलको अन्तिम २५ मिनेटमा अर्जेन्टिनाले ९२ प्रतिशत समय बलमाथि कब्जा जमाएको थियो । यस अवधिमा इङ्गल्यान्डले ५ वटा पास मात्र पूरा गर्न सक्यो, जसले टोली कतिसम्म दबाबमा थियो भन्ने स्पष्ट पार्छ । रक्षात्मक खेलाडी थप्दा दबाब कम हुने अपेक्षा विपरित, इङ्गल्यान्डले अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जो फर्नान्डेज जस्ता खेलाडीहरूलाई खुलेर खेल्ने र आक्रमण बुन्ने प्रशस्त ठाउँ दियो ।

अर्कोतर्फ, अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने साहसीक निर्णय गर्दै डिफेन्डर घटाएर स्ट्राइकर लाउटारो मार्टिनेजलाई मैदान पठाए । यसले इङ्गल्यान्डको रक्षापङ्क्तिलाई अझ अस्तव्यस्त बनायो । मेस्सीको दुई उत्कृष्ट मुभ र पासमा भएको दुई गोलले अन्ततः इङ्गल्यान्डको विश्वकप यात्रा समाप्त गरिदियो । खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा मात्र मार्कस रासफोर्ड र इभान टोनी जस्ता आक्रामक खेलाडी ल्याउनु टुचेलको अर्को गल्ती मानिएको छ ।

हारको पूर्ण जिम्मेवारी लिँदै टुचेलले खेलपछि आफू आलोचना सहन तयार रहेको बताएका छन् । उनले भने, ‘हामीले अग्रता जोगाउन गहिरो रक्षात्मक घेरा बनायौँ, तर बल खोस्न र नियन्त्रण गर्न सकेनौँ । जब तपाईं पराजित हुनुहुन्छ, तब गरिएका निर्णयहरूमाथि प्रश्न उठ्नु स्वाभाविक हो ।’ यद्यपि, फुटबल विश्लेषकहरूले भने टुचेलको नकारात्मक फुटबलका कारण इङ्गल्यान्डले ऐतिहासिक अवसर गुमाएको टिप्पणी गरेका छन् ।

अब इङ्गल्यान्डले शनिबार तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । अर्जेन्टिनाले भने आइतबार स्पेनसँग फाइनलमा प्रतिस्पर्धा गर्दै आफ्नो उपाधि रक्षा गर्ने प्रयास गर्नेछ । इङ्गल्यान्डका लागि यो हार फेरि एकपटक नजिकै पुगेर पनि टाढिएको पीडादायी क्षण बनेको छ । एएनआई

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु