global ime bank Long Banner Ad

गृहपृष्ठ सिँचाइ सुविधासँगै दाङको राजपुरमा ‘चैते धान’ को मोह बढ्दो

सिँचाइ सुविधासँगै दाङको राजपुरमा ‘चैते धान’ को मोह बढ्दो

सिँचाइ सुविधासँगै दाङको राजपुरमा ‘चैते धान’ को मोह बढ्दो

दाङ । दाङको राजपुर गाउँपालिका–१ गुरुङखोला यतिबेला हरियाली देखिएको छ। कतिपय गराहरूमा धान हुर्किरहेका छन् भने कतै किसानहरू अझै रोपाइँको तयारीमा व्यस्त छन्। स्थानीय किसान कमान सिंह यसैको एक उदाहरण हुन्।

वैशाखको चर्को घाममा पनि उनी एक हल गोरु लिएर हिलो बनाउँदै धान रोप्ने तरखरमा छन्। पर्याप्त पानी र अनुकूल वातावरणका कारण यस क्षेत्रका किसानहरू वर्षमा दुई पटक धान खेती गरेर लाभान्वित भइरहेका छन्।

सिँचाइले फेरिएको गाउँको मुहार

विगतमा सिँचाइको अभावमा आकाशे पानीको भर पर्नुपर्ने गुरुङखोलाका किसानहरू अहिले आत्मनिर्भर बन्दै गएका छन्। गुरुङखोला कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णुबहादुर बुढा मगरका अनुसार पहिला खाने चामल लमहीबाट गाडीमा बोकेर ल्याउनुपर्ने बाध्यता थियो।

तर, अहिले कुलो सुधार भई खेत–खेतमा पानी पुग्न थालेपछि स्थिति उल्टिएको छ। अहिले यहाँका किसानले आफ्नो आवश्यकता पुरा गरेर बचेको धान बजारमा बिक्री समेत गर्न थालेका छन्। १० विगाहभन्दा बढी क्षेत्रफलमा फैलिएको यो खेतीले गाउँको आर्थिक अवस्थामा ठूलो सुधार ल्याएको छ।

साना सिँचाइ पूर्वाधारको प्रभावकारी भूमिका

धान खेती विस्तार हुनुमा साना सिँचाइ पूर्वाधार सुधार कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले कच्ची कुलोलाई पक्की बनाएपछि पानी चुहावटको समस्या अन्त्य भएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा ५ लाख ३० हजार रुपैयाँको लागतमा निर्माण गरिएको यो योजनामा सरकारको ४ लाख र स्थानीय कृषकको १ लाख ३० हजार रुपैयाँ लगानी रहेको छ। इकाई प्रमुख कोमल शाहीका अनुसार यस्ता पूर्वाधारले किसानलाई चैते धानतर्फ थप उत्साहित बनाएको छ।

लुम्बिनी प्रदेशमा बढ्दो आकर्षण

राजपुर मात्र नभई समग्र लुम्बिनी प्रदेशमै चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दो छ। विशेषगरी बर्दिया, पाल्पा, दाङ र रुपन्देहीमा गहुँ भित्र्याएपछि बाँझो रहने जमिनमा यो खेती गर्ने लहर चलेको छ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार प्रदेशभर १ हजार ६०५ हेक्टरमा चैते धान खेती भई ७ हजार ५१७ मेट्रिक टन उत्पादन भएको थियो। एकै वर्षमा दुई बाली लिन सकिने भएकाले यसले खाद्य सुरक्षामा मात्र नभई किसानको आयआर्जनमा समेत ठूलो टेवा पुर्‍याइरहेको छ। सरकारले बीउ र प्रविधिमा थप सहयोग गरे यो क्षेत्र अझै फस्टाउने देखिन्छ।

दशरथ घिमिरे

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु