गृहपृष्ठ ‘जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
‘जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मानिसका लागि इन्टरनेट जीवनको अभिन्न आवश्यकता भएको बताएका छन् ।
आइतबार नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्याएको विशेष प्याकेजको शुभारम्भ गर्दै मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलन र बदलिँदो प्रविधिक परिवेशले अहिलेको सरकार र नीतिलाई नयाँ दिशातर्फ अघि बढाइरहेको उल्लेख गरे ।
उनले भने, ‘देश र जनताको लागि केही नयाँ गर्न सकूँ भन्ने चाहना मनमा सँधै रहन्छ । जेनजी जनआन्दोलनको जगमा बनेको यो सरकारलाई थाहा छ अघिल्लो सरकार किन रहन सकेन भनेर । सामाजिक सञ्जाल बन्द भएपछि जसरी देशभर प्रदर्शन भयो, त्यसपछि बनेको सरकार यो हो ।’सञ्चार क्षेत्रलाई आधुनिक परिवर्तनको मेरुदण्डको रूपमा चित्रण गर्दै मन्त्री खरेलले अबको संसार सञ्चारबिना कल्पना गर्न नसकिने बताए ।
उनले भने, ‘अबको संसार सञ्चारबिना कल्पना गर्न सकिँदैन । इन्टरनेट अहिले सबैका लागि श्वास फेर्ने जस्तै आवश्यकता बनेको छ । विशेषगरी विद्यार्थीका लागि त यो अत्यावश्यक भइसकेको छ ।’
उनले सरकारले विद्यार्थी र युवा पुस्तालाई लक्षित गरी डिजिटल पहुँच बढाउने तथा इन्टरनेट सेवा सुलभ र सर्वसुलभ बनाउन नीति निर्माणमा प्राथमिकता दिने समेत बताए ।
उनले भने, ‘साच्चिकै भन्ने हो भने सञ्चार क्षेत्रबिना अब बद्लिँदो परिवेश कल्पना गर्नै सक्दैनौं । जेनजी आन्दोलनको जगमा बनेको यो सरकार जेनजीको लागि र विद्यार्थीको लागि के दिनु हुन्छ त ? आज लाखौं विद्यार्थीहरु जो काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रमा अथवा जिल्लास्थित सदरमुकामहरुमा अथवा आफ्नै घरमा जो जसरी बसिरहेका छन् उनीहरुको लागि इन्टरनेटको सुविधा श्वास फेर्नु सरह छ । हामी जसरी श्वास फेर्छौं त्यस्तै गरेर सबैका लागि त्यो इन्टरनेटको सुविधा श्वास फेर्नु सरह त छँदैछ त्यसमाथि पनि विद्यार्थीको लागि महत्वपूर्ण छ ।
कार्यक्रममा नेपाल टेलिकमका अधिकारीहरूले विद्यार्थीहरूका लागि नयाँ इन्टरनेट प्याकेजको विवरण प्रस्तुत गर्दै उक्त योजनाले शिक्षामा प्रविधिको प्रयोग र डिजिटल पहुँच विस्तारमा सहयोग पु-याउने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित समय : १५:३४ बजे



















