global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ किसानको सहलगानीमा भित्रियो ६२ लाख बढीको आधुनिक मेसिन

किसानको सहलगानीमा भित्रियो ६२ लाख बढीको आधुनिक मेसिन

किसानको सहलगानीमा भित्रियो ६२ लाख बढीको आधुनिक मेसिन

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–९ का किसानहरूले लामो समयको सपना पूरा गर्दै अत्याधुनिक धान काट्ने मेसिन हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रली भित्र्याएका छन् । कुल लागत ६२ लाख ७६ हजार रुपैयाँ पर्ने यस परियोजनामा कोशी प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिएको छ ।

वडा अध्यक्ष नरबहादुर मोक्तानले भने,‘हाम्रो उद्देश्य किसानलाई प्रविधिसँग जोडेर उत्पादनमा वृद्धि गर्नु हो । समयमै मल, जल र बीउ व्यवस्थापन गर्दा प्रति मन ११० मनसम्म धान उत्पादन सम्भव छ। तर, कृषि मजदुरको अभावले धान भित्र्याउन समस्या भइरहेको थियो। अब पूर्ण प्रविधियुक्त खेतीले किसानलाई मजदुरको पर्खाइमा निर्भर नबनाउनेछ ।’

किसान डिकेन्द्र बस्नेतले अनुभव साझा गर्दै भने, ‘धान काट्न मजदुरको समस्या भइरहेको बेला हार्भेष्टर गाउँमै आइपुग्यो । थोरै खर्चमा छिटो र छरितो ढंगले धान भित्र्याउन सक्यौं । यदी पराल व्यवस्थापनका लागि अलग मेशिन पनि भए अझ सजिलो हुने थियो ।’

साबिक राजघाट गाबिस हाल उर्लाबारी–८ र ९ धानको सघन खेती हुने वडाहरूमध्ये पर्दछ। यहाँ पालिकाले मकै खेतीको पकेट कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलका अनुसार, वडाले प्रविधि भित्राउन १० लाख रुपैयाँ विनियोजन गरेको थियो। किसानहरूले ट्याक्टर खरिदमा ७ लाख ४६ हजार रुपैयाँ लगानी गरेका छन्।

किसान, वडा कार्यालय र प्रदेश सरकारको साझेदारीमा ल्याइएको यस प्रविधिले धान काट्ने समय घटाउँछ, श्रमको लागत बचत गर्छ र उत्पादनमा सुधार ल्याउँछ । किसानहरूले प्रतिघण्टा ६ हजार रुपैयाँ मात्र तिर्नेछन्, सामान्यतया बजारमा यो मूल्य ७,५०० रुपैयाँ पर्ने गर्दछ।

विकास र प्रविधिको यो सहकार्यले उर्लाबारी–९ का किसानहरूलाई आत्मनिर्भर बनाउने, उत्पादन बढाउने र कृषि क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने स्थानीयको भनाई छ ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु