काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिरासतमा कस्तो छ रवि लामिछानेको दैनिकी ?

8.04K
shares

हिजोसम्म हजारौं प्रेमिलहरुको मात्रै दिल थियो पोखरामा । तर आज रवि लामिछानेको चिलबिल छ पोखरामा ।

हजारौं समर्थकहरु उनको रिहाईका लागि आन्दोलनको ज्वारभाटा निकाल्ने तयारीमा छन् । रास्वपाको दिलदिमाग नै पोखरामा छ । उनीहरुको बस चल्थ्यो भने अहिलेसम्म देशभर आगो लागिसक्थ्यो । श्रीलंकाजस्तो प्रधानमन्त्री र राष्ट्रपतिका क्वार्टरमा छिरेर जनताहरुले लखेटिसक्थे । बंगलादेशकी एउटी आमाको पतनजस्तो यताका बाको पनि पतन भइसक्थ्यो । तर प्रश्न उठेपछि वा गम्भीर आरोप लागिसकेपछि जोसुकै होस्, जतिबेला पनि कानुनी दायरामा आउनुपर्छ र न्याय प्रक्रियालाई सघाउनुपर्छ भन्ने मान्यतामा अडिग जनमतले आन्दोलन भड्किन पाएको छैन । तथापी रास्वपा रविलाई जुनसुकै मूल्य चुकाएर भएपनि हिरासत मुक्त गराई छोड्ने लडाइँमा छ । आफ्नो पार्टीबाट अहिलेसम्म कोही शहीद नभएको भन्दै शहीद बन्न पनि तयार रहेको दाबी त मनीष झाले नै गरेका छन् ।

तर कानुनले च्याप्प समाएर थुनामा हालेपछि कसको के लाग्छ र । रवि र छबि एउटै खोरमा छन् । तर सामान्य थुनुवाभन्दा उनीहरुलाई राज्यले गरेको व्यवहार भने फरक छ । प्रतिशोधका कारण पक्राउ गरेको भन्ने आरोप खेपेको सरकारले रवि–छबिलाई भने ‘सुपर नागरिक’ सरहको सुविधा दिइरहेको छ । किनकि एउटा पूर्वगृहमन्त्री हुन् भने एउटा पूर्वडीआईजी हुन् । अर्थात् उनीहरु हिरासतभित्रकै चिसो भित्तामा अडेश लगाएर बस्नुपरेको छैन । उडुसको टोकाईले निन्द्रा बिगार्नु परेको छैन । हिरासत रुँघ्ने सुरक्षाकर्मी सुत्ने कोठालाई अलि सुविधासम्पन्न बनाएर रवि–छबि बस्ने ठाउँ बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा पाँचवटा हिरासत कक्ष छन् । एउटामा महिला र एउटामा तेस्रोलिंगी राखिएको छ । बाँकी तीनवटा पुरुष कैदीहरुका लागि हो । जहाँ रवि र छबि एकैठाउँमा छैनन् । माथिल्लो तलामा रवि छन् भने तल्लो तलामा छबिलाल जोशी छन् ।

सुरक्षाकर्मी सुत्ने कोठामा एउटा सामान्य खाट र ओछ्यान छ । त्यसलाई अलि सुविधासहितको बनाएर उनीहरुलाई राख्ने व्यवस्था गरिएको छ । उनीहरुसँगै एकजना हवल्दार र जवान पनि सुत्छन् । रवि र छबि एउटै मुद्दा र आरोपमा पक्राउ परेका हुन् । तर अहिलेसम्म यी दुवैको भेट भएको छैन । शौचालय समयभन्दा अरुबेला बाहिर निस्किन पाउँदैनन् । यी दुई संयोगले एउटै समयमा शौचालय पुगे भने मात्रै भेट हुने सम्भावना रहन्छ । तर सोमबार रविको छेउबाट छबिलाई समेत झिकेर बुटवल पुर्‍याईएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगीबारे पनि अनुसन्धान गर्नुपर्ने भएकाले छबिलाई कास्कीबाट रुपन्देही पुर्‍याईएको हो । प्रहरीको पूर्वडीआईजीसमेत रहेका छबिलाल जोशीलाई सुरुमा अन्य थुनुवाहरुसँगै राखिएको थियो । जतिबेला रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठसँग पनि भेट भएको थियो । उनीहरु दुवैले बेलाबेला रविको पनि कुरा गर्थे । तर ढाका छुटेपछि छबि एक्लै परे । चिसोले बिरामी परे, हस्पिटल बस्न पाउनुपर्छ भन्न थालेपछि प्रहरीले उनलाई सुरक्षाकर्मी सुत्ने कोठामा बस्ने व्यवस्था गरेको हो । अहिले पूर्वगृहमन्त्री रविसमेत पक्राउ परेपछि उनलाई पनि सोही सुविधामा राखिएको छ ।

१४ बर्ष जेल बस्दा पर्याप्त पानी खान नपाएपछि केपी ओलीको किड्नी खराब भएको भन्दै बेलाबेला टिप्पणी हुन्छ । तर रविले अहिलेसम्म हिरासतको सरकारी खाना खाएका छैनन् । उनलाई पत्नी निकिता सहितका सहयोगीले बाहिरबाटै खाना लिएर पुग्छन् । दिनमा झण्डै दुईपटक कपडा फेर्छन् ।

त्यसबाहेक आफ्नो कोरटीम र नेता कार्यकर्ताहरुसँग सहजै भेटघाट गर्न पाइरहेका छन् । प्रहरी स्राेतका अनुसार पूर्वगृहमन्त्री भएका हिसाबले समेत पार्टीका खास नेताहरुसँग संवाद गर्न उनलाई कडाई गरिएको छैन ।

रविको रिहाईका लागि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरुले आज तेस्रो दिनपनि सडक प्रदर्शन गरेका छन् । आइतबार प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेर पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर तितरवितर पार्न खोजेपनि पार्टीका नेता कार्यकर्ताले पोखरा छोडेका छैन्न । कतिका टाउको फुटेका छन् भने कति रास्वपाका आफ्नै कार्यकर्ता कुटिएका छन् । प्रहरीले समेत भिडलाई नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरिरहेको छ ।