केही स्थानमा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन सुझाव
वि.सं.२०७७ असार २२ सोमवार १४:५५
shares

मनसुनी वायुको प्रभावका कारण देशभर सोमबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहानैदेखि प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
सोमबार दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थान र प्रदेश १ तथा प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
राति पनि देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थान र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थान र प्रदेश १, प्रदेश २ का केही स्थानमा सोमबार मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक-दुई स्थानहरुमा भारी वर्षा सम्भावना रहेकाले सर्तकता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदको सुझाव छ ।

























