कोभिड-१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा दुई जना पक्राउ
वि.सं.२०७७ भदौ २६ शुक्रवार १८:५६
shares

सामाजिक सञ्जालमार्फत कोभिड-१९ को पिसिआर रिपोर्टसम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका ४ घर भई कास्की पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल छन् । रिमाललाई बुधबार र लम्साललाई बिहीबार आ-आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड-१९ पिसिआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोस्ट गरी झुट्टा अफवाह फैलाएका थिए । उनीहरुविरुद्ध झुट्टा अफवाह फैलाउन नहुनेसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

























