काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

441
shares

बागलुङ। गण्डकी प्रदेश सरकारले बागलुङका २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर राष्ट्रिय राजमार्ग तथा कालोपत्र सडकसँग जोडिने ग्रामीण सडकको स्तरोन्नति अघि बढाइएको हो ।

पूर्वाधार विकास कार्यालय बागलुङका अनुसार केही सडकको स्तरोन्नति सुरु भइसकेको छ भने केही आयोजना ठेक्का प्रक्रियामा छन् । सडक स्तरोन्नतिसँगै जिल्लामा १६ झोलुङ्गे पुल र १५ बेलिब्रिज निर्माणको काम अघि बढाइएको छ ।

कार्यालय प्रमुख अनुप थापाका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर  एक अर्ब ४२ करोडका योजना कार्यान्वयनको चरणमा पुगेका छन् । ती योजनामध्ये २४२ ग्रामीण सडक स्तरोन्नति, १६ झोलुङ्गे पुल र १५ बेलिब्रिज निर्माणका आयोजना छन् ।

“जिल्लाभर चालु आर्थिक वर्षमा २९२ योजना कार्यान्वयनमा गएका छन्, त्यसमध्ये २५ बहुवर्षीय आयोजना हुन् भने अन्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ,” थापाले भने, “बहुवर्षीय योजना पूर्ण रूपमा कार्यान्वयन गर्न थप रु ४८ करोड बजेट आवश्यक पर्ने देखिएको छ ।”

सडक स्तरोन्नतिका लागि नापजाँच तथा पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको छ । अधिकांश साना तथा ग्रामीण सडकका लागि रु २५ लाख बराबरको बजेट विनियोजन गरिएको छ भने केही सडकमा रु एक करोड बराबरको बजेट रहेको कार्यालयले जनाएको छ ।

ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने उद्देश्यले नाली, ग्याबिन जाली, कल्भर्ट निर्माण, खाल्डाखुल्डी मर्मत तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा ढलान गरिनेछ । यसबाट वर्षायाममा सडक अवरुद्ध हुने समस्या कम हुनाका साथै ग्रामीण बस्तीको यातायात पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकामा रु एक करोड लागतमा मस्तिचौर–बोबाङ सडक र हुन्द्राफेदी–खुङ्गा सडक स्तरोन्नति गरिनेछ । यस्तै, ढोरपाटन नगरपालिका–१ र २ लाई जोड्ने गरी पाखुरीबासमा मोटरेबल पुल निर्माण गर्ने योजना रहेको छ ।