हुम्लामा विद्यालय पूर्वाधारमा १४ करोड २९ लाख खर्च
वि.सं.२०७७ भदौ २६ शुक्रवार १८:५२
shares

सामाजिक विकास कार्यालय हुम्लाले हुम्लाको विद्यालयलगायत अन्य कामका गत आ.व.२०७६/७७ मा सवा १४ करोड खर्च गरेको छ ।
हुम्लामा स्थापित प्रादेशिक कार्यालयहरूमा सबैभन्दा बढी खर्च गर्ने कार्यालय सामाजिक विकास कार्यालय हो । यो कार्यालयले एक वर्षमा कुल बजेटको ८० प्रतिशत रकम विद्यालयको भौतिक पूर्वाधारमा खर्च गरेको छ ।
कर्णाली विकासका लागि स्वयंसेवक शिक्षक, बालबाविकासका लागि प्रोत्साहन भत्ता, सामुदायिक नमुना विद्यालय निर्माण, खेलमैदान तथा शौचालय निर्माण, बहुप्राविधिक तथा आधारभूत विद्यालय सुदृढीकरणलगायत जेष्ठ नागरिक, अपांग असक्त, सामाजिक बहिष्करणमा परेका नागरिकहरूको सचेतनालगायतका विभिन्न कार्यक्रममा खर्च भएको सूचना अधिकारी धर्मराज बोहराले जानकारी दिए ।
आ.व.२०७६/७७ मा सामाजिक विकास कार्यालय हुम्लाको चालूतर्फ ६ करोड ७९ लाख ६७ हजार रहेको थियो । यसमा ४ करोड ७७ लाख ५० हजार ८१५ खर्च भएको छ । यसै गरी पुँजीगततर्फ ९ करोड ५२ लाख ५४ हजारमा ९ करोड ५२ लाख ३७ हजार ९३४ रुपैंया १० पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका कार्यालय प्रमुख नरेशबाबु भट्टले बताए ।
दुबै शीर्षकको जम्मा बजेट १४ करोड २९ लाख ८८ हजार ७४९ रुपैयाँ १० पैसा खर्च गरेको छ । यो रकम कुल बजेटको ८७.६० प्रतिशत हो । सो कार्यालयले हुम्ला जिल्लाभरीका विभिन्न तहका विद्यालयहरूको भौतिक पूर्वाधार सुधारमा काम गरेको सूचना अधिकारी बोहराले बताए ।

























