गृहपृष्ठ सिटिजन्स बैंक १६औँ वर्षमा प्रवेश, डिजिटल बैंकिङलाई उच्च प्राथमिकता
सिटिजन्स बैंक १६औँ वर्षमा प्रवेश, डिजिटल बैंकिङलाई उच्च प्राथमिकता
२०६४ वैशाख ७ गतेदेखि २०औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । पन्ध्र वर्षको अवधि पार गरिसक्दा बैंकले ग्राहक सेवासँगै आफ्ना वित्तीय सूचकमा समेत उत्कृष्ट सुधार गर्दै उत्कृष्ट दश बैंकको सूचीमा आफूलाई राख्न कोशिस गरेको छ ।
बैंकले हाल करिब १३ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखा कार्यालयमार्फत अत्याधुनिक डिजिटल बैंकिङ सेवा ग्राहकलाई उपलब्ध गराउँदै आइरहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कुल निक्षेप करिब १ खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको लगानीमा रहेको कर्जा १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । चालु आवको ९ महिना अवधिमा बैंकले १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गरेको छ ।
बैंकले १५औं वार्षिकोत्सवको अवसरमा वैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले 'रक्तदान नै जीवनदान' भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा करिब ४०० जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको बैंकले जानकारी दिएको छ । साथै बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारी तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीलाई 'दीर्घ सेवा सम्मान पदक' वितरण गरी सम्मान गरेको छ ।
बैंकका सेयरधनीले तेस्रो वर्षदेखि लगातार लाभांश प्राप्त गरिरहेका छन् । आर्थिक वर्ष २०७१/७२ मा सर्वाधिक २१ प्रतिशत लाभांश वितरण गरेको बैंकले २ आर्थिक वर्षमा सिंगल डिजिटमा लाभांश वितरण गरेको छ भने ९ आर्थिक वर्षमा डबल डिजिटमा लाभांश वितरण गरेको इतिहास छ ।
प्रकाशित समय : १६:४५ बजे



















