global ime bank Long Banner Ad

गृहपृष्ठ दरबारमार्ग महोत्सव : आन्तरिक पर्यटनलाई उर्जा दिन सफल

दरबारमार्ग महोत्सव : आन्तरिक पर्यटनलाई उर्जा दिन सफल

दरबारमार्ग महोत्सव : आन्तरिक पर्यटनलाई उर्जा दिन सफल

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते (शनिबार) काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको १५औं दरबारमार्ग महोत्सव सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरबारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने सन्देश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् ।

कोभिड-१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घरबाहिर आउन ठूलो उर्जा दिएको छ । महोत्सवमा कलाकारहरूले प्रस्तुुति दिन थालेपछि माहौल निकै मनोरञ्जनात्मक भएको थियो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक उदघाटन गरेका थिए । देशका ९० प्रतिशत बढी जनसंख्याले कोभिड विरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताए ।

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो । महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यमा यो महोत्सव आयोजना गरेको हो ।

महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यायसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताए । महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले साना ठूला सवै उद्यम व्यवसायलाई यस्ता कार्यक्रमले उर्जा प्रदान गर्ने बताइन् । धन्यवाद मन्तव्यका क्रममा रेबानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र वाह्य पर्यटन पुनरूत्थानमा सहयोग गर्न सकियोस् भनेर महोत्सव आयोजना गरिएको बताए ।

गीत-संगीत, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिब १ लाख दर्शकले अवलोकन गरेका थिए । चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विशेष प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो ।

महोत्सवमा दिपक बज्राचार्य एण्ड रिदम ब्याण्ड, कबवेब, समृद्धि राई वीथ ब्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य कलाकार तथा समूहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ-आफ्ना प्रस्तुति दिँदै आगन्तुकहरुलाई गीतसंगीतले मनोरञ्जन दिएका थिए । यसका साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुति थियो ।

महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामग्रीहरु पनि प्रदर्शनीमा राखिएका थिए । त्यसैगरी महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा राखिएका थिए । महोत्सवमा ६० वटा स्टल राखिएका थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड-१९ बाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकको छ ।

प्रकाशित समय : ००:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु