गृहपृष्ठ कविताको हत्यामा संलग्न सार्वजनिक
कविताको हत्यामा संलग्न सार्वजनिक
उदयपुरकाे बेलका नगरपालिका-३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मंगलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
कविताको हत्यामा संलग्न रहेकामा बेलका-३ बस्ने १७ वर्षीया सरिता ढकाल खत्री र उनको ठूलाबुबाको छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर कविताको हत्यामा संलग्न भएको पुष्टि गर्दै सार्वजनिक गरेको हाे ।
कोशी जनता माविमा कक्षा १० मा अध्ययरत कविता एसइईको तयारी गर्ने क्रममा मंगलबार बिहानै ४ बजे ट्युसन पढ्न स्कुल गएकी र स्कुलमा पनि नपुगेको तथा उनको शव मंगलबार बिहान ५ः३० बजेतिर घरभन्दा दुई किलोमिटर पर जशोदा खोलाको किनारमा मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल अनुसन्धनाको क्रममा प्रहरीले सरिता र विनोदलाई पक्राउ गरेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराले बताए ।
मंगलबार जिल्ला प्रहरी कार्यालयमा कविता हत्यामा संलग्नमध्ये विनोदलाई प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार कविता र सरिता दुवै कक्षा १० मा कोशी जनता मावि बेलकामा अध्ययरनत रहँदै आएको प्रहरीले बताएको छ । कविता र सरिताबीच केही द्वन्द्व रहेको र कविताले सरितालाई नराम्रा कुरा गर्ने गरेको कारण सरिताले सहन नसकेर ठूलाबुबाको छोरा विनोद ढकाललाई लगाइ कविताको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान कवितालाई सरिताले मोबाइलमा एसएमएस गरेर चाँडै ट्युसन जान खबर गरेको र सरिताले दाजु विनोदलाई पनि सँगै लिएर पर जंगलसम्म गएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ । बाटोमा कविता र सरिताको भेट भएपछि पछाडिपट्टिबाट विनोदले लुकाएर बोकेको बियरको बोतलले कविताको टाउकाेमा हानेपछि कविता भुइँमा बेहोस भई लडेकी थिइन् ।
सोही क्रममा सरिता र विनोदले नजिकैको जशोदा खोलाबाट केही ढुंगा बोकेर ल्याई कविताको टाउको र अनुहारमा हानेपछि कविताको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला अदालतको आदेशानुसार हत्यामा संलग्न विनोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा चलाउन तयारी गरेको छ । सरितालाई भने बालगृहमा राखेर मुद्दा चलाउने तयारी भएको प्रहरीले बताएको छ ।
प्रकाशित समय : १४:१६ बजे



















