पाकिस्तानमा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु
वि.सं.२०८३ असोज ३० शुक्रवार १०:०८
shares

काठमाडौं । अस्पतालका अधिकारीहरूका अनुसार उत्तर-पश्चिमी पाकिस्तानको पेशावर सहरमा एउटा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ।
घटनामा अन्य एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। उद्धार अधिकारी बिलाल फैजीका अनुसार बिहीबार बिहान पढाइ सुरु भइसकेपछि ‘दिर कोलोनी’ मा रहेको निजी ‘अल-खैर’ विद्यालयमा आपतकालीन सेवालाई बोलाइएको थियो। उनका अनुसार, माथिल्लो तल्लाको एउटा कक्षाकोठाको छाना खस्दा त्यसभन्दा तल्ला भागहरू पनि भत्किए, जसका कारण बालबालिकाहरू भग्नावशेष मुनि पुरिए।
विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जानकारी दिँदै प्रहरी प्रमुख मियाँ सइदले भवन निर्माणसम्बन्धी नियमहरूको उल्लंघन भए-नभएको विषयमा विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।
नजिकैको अर्को विद्यालयका एक अंग्रेजी शिक्षकले बताएअनुसार एम्बुलेन्सको साइरन र आवाज सुनेपछि उनी तुरुन्तै स्थानीय बासिन्दाहरूसँगै घटनास्थलतर्फ दौडिएका थिए। उनले आफूहरूले मिलेर भग्नावशेषमुनिबाट २० जनाभन्दा बढी बालबालिकालाई जीवितै बाहिर निकालेको बताए।
“मैले आफ्नै हातले छ जना बालबालिकालाई बाहिर निकालें। उनीहरूमध्ये धेरैजसो जीवित थिए र कुरा पनि गरिरहेका थिए। तर पछि उनीहरूको मृत्यु भइसकेको थाहा भयो,” उनले भने, “त्यहाँ धेरै रगत थियो,” उनले थपे, “एउटा बच्चाले आफूलाई धेरै पीडा भइरहेको बतायो। उसको मुखभित्र जिब्रो सुकिसकेको थियो र ऊ पानी मागिरहेको थियो।”
त्यहीँका अर्का स्थानीय बासिन्दा सोहेलले बताए अनुसार, उनले र अन्य मानिसहरूले बेल्चा प्रयोग गरेर बालबालिकाहरूलाई भग्नावशेषमुनिबाट निकाल्ने प्रयास गरेका थिए। आपतकालीन सेवा अधिकारी आरिफ खट्टकका अनुसार उक्त विद्यालय भवन अस्थायी रूपमा निर्माण गरिएको थियो।
सुरुआती विवरणमा ध्वस्त भएका कक्षाकोठाहरू भवनको दुई तले भागमा रहेको बताइएको भए पनि पछि पेशावर प्रहरी प्रमुख मियाँ सइदले तीन तलासम्मका कक्षाकोठाहरू भत्किएको पुष्टि गरे। उनका अनुसार, सबैभन्दा माथिल्लो तलामा करिब ३० जना, बीचको तलामा ४० जना र भुइँ तलामा ४५ जना विद्यार्थीहरू थिए।
जब सबैभन्दा माथिल्लो तलाको कक्षाकोठाको छानो खस्यो, त्यसबाट खसेका भग्नावशेषहरूले तल्लो तलामा रहेका कक्षाकोठाहरूलाई पनि थिचेर भत्काइदिए, जसका कारण ती तलाका पनि छतहरू खसेका थिए।
























