बजाज पल्सर एनपीएलको तीन सिजनका लागि सह–प्रायोजक
वि.सं.२०८३ असोज ३० शुक्रवार ०८:२१
shares

काठमाडौं । बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपीएल) सँगको साझेदारी विस्तार गर्दै आगामी तीन सिजनका लागि सह–प्रायोजन सम्झौता गरेको छ। सम्झौताअनुसार बजाज पल्सर एनपीएलको तेस्रो, चौथो र पाँचौँ सिजनमा सह–प्रायोजकका रूपमा जोडिनेछ।
यसअघि दोस्रो सिजनमा एनपीएलको आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार रहेको बजाज पल्सरले नयाँ सम्झौतामार्फत नेपाली क्रिकेटसँगको सहकार्यलाई निरन्तरता दिएको हो।
कम्पनीका अनुसार तीन सिजनसम्म रहने यो साझेदारीले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेलाडी, समर्थक र नयाँ पुस्ताका क्रिकेटप्रेमीसँगको सम्बन्ध थप बलियो बनाउने लक्ष्य राखेको छ।
नेपालमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा एनपीएलले खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने र समर्थकलाई खेलसँग जोडिने मञ्च प्रदान गर्दै आएको छ। बजाज पल्सरले पनि यही अवसरलाई उपयोग गर्दै क्रिकेटप्रतिको उत्साहलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई खेलसँग नजिक बनाउने अपेक्षा गरेको छ।
बजाज पल्सरको पहिचान शक्ति, प्रदर्शन, महत्त्वाकांक्षा र साहससँग जोडिएको छ। नेपाली क्रिकेटले पनि प्रतिस्पर्धा, समर्पण र निरन्तर प्रगतिमार्फत नयाँ उचाइ हासिल गर्ने लक्ष्य राखेको छ। यी साझा मूल्यले साझेदारीलाई थप अर्थपूर्ण बनाउने कम्पनीको विश्वास छ।
एनपीएलको तेस्रो, चौथो र पाँचौँ सिजनअन्तर्गत हुने आगामी घोषणा, अभियान तथा विभिन्न गतिविधिबारे जानकारी पल्सर नेपालको आधिकारिक सञ्चारमाध्यमबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
























