काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने

1.09K
shares

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीको १६औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि हालका लेखापरीक्षक एनबीएसएम एन्ड एसोसिएट्सलाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ।

कम्पनीका अनुसार असार मसान्त २०८३ को वासलातअनुसार प्रतिसेयर आम्दानी १२.६६ रुपैयाँ रहेको छ। वितरणयोग्य आम्दानीबाट चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् करसहित ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो।

नेपालको पुँजीबजारमा सेयर निष्कासनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा सुरु गर्ने पहिलो संस्थामध्ये रहेको लक्ष्मी सनराइज क्यापिटलले तीन दशकभन्दा बढी समयदेखि नेपालको धितोपत्र बजारको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा योगदान दिँदै आएको जनाएको छ।

कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका ६ वटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड सञ्चालन गरिरहेको छ। त्यस्तै, एक अर्ब रुपैयाँ पुँजी भएको लक्ष्मी सस्टेनेबल इनर्जी फन्डमार्फत दिगो ऊर्जाका क्षेत्रमा लगानी गर्दै आएको छ।

लक्ष्मी सनराइज क्यापिटल इम्प्याक्ट प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्ट (Impact Principles for Impact Management) मा हस्ताक्षर गर्ने नेपालको पहिलो संस्था रहेको कम्पनीले जनाएको छ। यसले सामाजिक तथा वातावरणीय प्रभावलाई ध्यानमा राख्दै पारदर्शी, अनुशासित र विश्वसनीय लगानी अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। उक्त सदस्यताले दिगो तथा उत्तरदायी लगानीप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ।