काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

9.22K
shares

रसुवा । भोटेकोशीमा गएको बाढीले रसुवाका विभिन्न प्रहरी चौकीहरू बगाउँदा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक अझै बेपत्ता छन । बाढीमा परेका २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता रहेकै अवस्थामा केहीको भने शव फेलापरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता डिल्लीराज सापकोटाका अनुसार बाढीमा बगेका टिमुरे इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामहरि खड्का, प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट र बेत्रावती प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक रामकाजी पौडेलको शव फेलापरेको हो ।

बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र अस्थायी प्रहरी पोष्ट मैलुङमा ठूलो क्षति पुगेको छ । बाढीले प्रहरी चौकी र भौतिक संरचनाको नामोनिसान छैन, केही क्षतविक्षत भएका छन् ।

प्रहरी वरिष्ठ हवल्दार राजु तामाङका अनुसार बिहान ८ः४५ बजेतिर स्याफ्रुबेँसी बजारमा कन्टेनर डिब्बाहरूको लाइन मिलाउने र इन्ट्री गर्ने काम भइरहेको अवस्थामा बाढीको त्यो त्रासदीपूर्ण भएको थियो ।

“बाढीले बजार डुबाउँदै गर्दा म छालमा परेको थिए । पानीको तीव्र बहावले मलाई निकै माथि हुत्याइदियो । करिब २–३ घण्टापछि होस् आउँदा म बजारभन्दा निकै टाढा पुगिसकेका थिए,” उनले त्यस दिनको घटना सम्झँदै भने, “ब्युँझिएर हेर्दा न त आफू कार्यरत प्रहरी चौकी थियो, न स्याफ्रुबेँसी बजार नै बाँकी थियो । सोही चौकीका अर्का घाइते प्रहरी जवान दिपेश भण्डारीले पनि सङ्घर्ष गर्दै कालको मुखबाट ज्यान जोगाउन सफल भएका थिए ।”

अस्थायी प्रहरी पोष्ट मैलुङमा कार्यरत प्रहरी हवल्दार रोशन विष्टले बाढी आउँदै गरेको खबर पाउनेबित्तिकै जलविद्युत् आयोजनाका कर्मचारीलाई सुरक्षित रहन खबर गर्न दौडिएको बताए। तर, खबर गर्दागर्दै करिब ५०० मिटर माथिबाट आएको बाढीको लेदो र छालले उनीहरूलाई बगाएको उनले सुनाए । आफूले विभिन्न आठ ठाउँमा ओत लाग्दै र हिलोमा सङ्घर्ष गर्दै भाग्यवश ज्यान जोगाएको बताए । सोही पोष्टका प्रहरी सहायक हवल्दार दुर्गाबहादुर मगर उकालोतिर दौडिएर एउटा सुरक्षित स्थानमा अड्किएर बच्न सफल भएका थिए ।

टिमुरेमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सन्तबहादुर थिङले त्यो दिनको बिहान सम्झना गर्दै भने, “हामी ड्युटीमै थियौँ । एक्कासी यति ठूलो बाढी आयो कि त्यो जमिनबाट नभई आकाशमै उडेर आएजस्तो देखिन्थ्यो ।” बाढी आएपछि ‘उकालो भागौँ, कतै ज्यान बच्छ कि’ भन्दै आफू र आफ्ना साथी प्रहरी हवल्दार ज्ञानबहादुर श्रेष्ठ पहाडतर्फ दौडिएर ज्यान जोगाउन सफल भएको उनले बताए ।

बाढीले अर्बौँको भौतिक क्षति पुर्‍याउनुका साथै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र नागरिक बेपत्ता पारेपछि यतिबेला सम्पूर्ण रसुवा जिल्ला शोकमा छ । बेपत्ता इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षकलगायत अन्य प्रहरी कर्मचारीको खोजी अझै तीव्र रूपमा जारी राखिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।