काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

462
shares

काठमाडौँ।काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन् ।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रुपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ ।

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए ।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।