काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अधिकांश मानिस निद्रामैः स्याङ्तान भने च्याउ टिप्न व्यस्त

987
shares

काभ्रे । बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ । अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन् ।

यही शान्त वातावरणबीच पनौती नगरपालिका–९, बिजुली हाइड्रोपावरनजिकै रोशी कृषि फार्ममा २९ वर्षीय देवराज स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्

बिहान ३ः३० बजेसम्म च्याउ टिपिसकेपछि उनलाई उत्पादित च्याउ तरकारी बजारसम्म पु-याउने चटारो हुन्छ । परिवारसँगै बसेर आफ्नै देशमा केही गर्ने अठोटका साथ उनले अँगालेको व्यावसायिक च्याउखेतीको दैनिकी हो, यो ।

वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किएका स्याङ्तान अहिले च्याउखेतीमार्फत आफ्नै गाउँठाउँमा भविष्य देखिरेका छन ।

विदेशमा रहँदा परिवारबाट टाढा बिताएका दिन र भोग्नु परेको अभावले उनलाई आफ्नै परिवारसँग बसेर च्याउखेतीमा लाग्ने चाहना जाग्यो ।

लामो समय परदेशमा श्रम गर्दा परिवारसँगै बसेर सुखदुःख बाँड्ने अवसर कम भएपछि उनले स्वदेशमै केही गर्ने निर्णय गरे। त्यसपछि विदेशमा अरूका लागि श्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाएर आत्मनिर्भर बन्ने बाटो रोजे ।

“विदेशमा परिवारको अभावमा बिताएका दिन बिर्सन सकिनँ । त्यसैले आफ्नै परिवारको काखमा रहेर सुखदुःख भोग्दै, च्याउ खेतीमा लागेको हुँ”, स्याङ्तानले भने ।

परिवारले गर्दै आएको पेसालाई निरन्तरता दिने सोचका साथ च्याउखेतीमा लाग्नु भएका उनका लागि यो व्यवसाय नयाँ भने होइन ।

उनका बाआमाले विसं २०६५ देखि नै च्याउखेती गर्दै आएका थिए । परिवारले गर्दै आएको उक्त पेसा उनका लागि पुरानो थियो ।

विदेशबाट फर्किएपछि उनले पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै विस्तार गर्ने योजना बनाए । परिवारबाट प्राप्त अनुभव र सीपलाई व्यावसायिक रूपमा अघि बढाउने उनको प्रयास अहिले च्याउखेतीमा केन्द्रित छ ।

करिब तीन रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गर्नु भएका स्याङ्तानले सुरुमा २० हजार लगानीमा पाँचवटा टनेल बनाएको थिए भने अहिले उनिसँग २७ टनेल पुगेका छन् ।

उक्त टनेल निर्माणमा उनले २१ लाख ६० हजार लगानी भएको जानकारी दिए । व्यवसाय विस्तार हुँदै जाँदा आफ्नै पुँजीले नपुगेपछि सहकारीबाट ऋण लिएका थिए । सानो लगानीबाट सुरु भएको व्यवसायलाई अहिलेको अवस्थामा पु-याउन निरन्तर मेहनतसँगै थप पुँजी आवश्यक परेको उनको अनुभव छ ।

सरकारी निकायबाट प्रविधि र आवश्यक सहयोग प्राप्त भए उत्पादन बढाउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने उनको विश्वास छ ।

परदेशको अनुभवलाई स्वदेशको श्रमसँग जोडेर कृषि व्यवसायमा भविष्य खोजि रहेका स्याङ्तानको यात्राले आफ्नै गाउँठाउँमा उद्यम गर्ने सम्भावना देखाएको छ ।