किसानलाई ऋण, अनुदान र प्रविधि हस्तान्तरणमा मन्त्रीको जोड
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १६:११
shares

सारांश
- मन्त्री रमा आले मगरले किसानलाई प्रोत्साहन गर्न ऋण, अनुदान र प्रविधि हस्तान्तरण गर्नुपर्ने धारणा राखेकी छन ।
- मन्त्री मगरले पुष्प व्यवसायमार्फत रोजगारी सृजना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याउन नीतिगत सहजीकरण गर्नुपर्नेमा जोड दिएकी छन
ललितपुर । बागमती प्रदेशका कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आले मगरले किसानलाई प्रोत्साहन गर्न ऋण, अनुदान र प्रविधि हस्तान्तरण गर्नुपर्ने धारणा राखेकी छन ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘गोदावरी फूलको १९ ओैँ प्रतियोगितात्मक प्रदर्शनी २०८३’ को उद्घाटन समारोहमा उनले सो धारणा राखेकी हुन ।
मन्त्री मगरले पुष्प व्यवसायमार्फत रोजगारी सृजना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याउन नीतिगत सहजीकरण गर्नुपर्नेमा जोड दिएकी छन ।
बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले बागमती प्रदेश सरकारले कृषितर्फ सात करोड र पशुपालनतर्फ आठ करोड ब्याज अनुदानको व्यवस्था गरेको जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले पुष्पखेतीको विकास र निकासी प्रवर्द्धनका लागि सङ्घ र प्रदेश सरकारले उचित व्यवस्था मिलाउनुपर्छ भने ।
कृषि विभागका उपमहानिर्देशक टीकाराम शर्माले पुष्प उद्यमीले गरेको योगदानको सम्मान गर्दै निर्यात र रैथानेउपजलाई प्रवर्द्धन गर्न सहकार्य गरी अगाडि बढ्नुपर्छ भने ।
पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले एसोसिएसनसँग समन्वय गरेर पुष्प व्यवसायको उत्पादन र व्यापार प्रवर्द्धनमा सहयोग पु-याउँदै आएको बताए ।

























